
काठमाडौं । सार्वजनिक यातायात बन्द भएपछि पोखरा विश्वविद्यालयले अनलाइन माध्यमबाट पढाउन सुरु गर्ने भएको छ । गण्डकी प्रदेश राइड सेयरिङ नियमावलीविरुद्ध यातायात व्यवसायी आन्दोलनमा उत्रिएपछि विश्वविद्यालयले अनलाइन माध्यमबाट पठनपाठन सञ्चालन गर्ने भएको हो ।
देशभर सार्वजनिक सवारीसाधनको आवागमन प्रभावित भएको र विद्यार्थी, शिक्षक र कर्मचारीको नियमित उपस्थितिमा समस्या उत्पन्न भएकाले पठनपाठन अवरुद्ध भएको विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयका रजिस्ट्रार सहप्रा.डा. अजय थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “समस्या समाधान भई सार्वजनिक यातायात पूर्ण रूपमा सञ्चालनमा नआएसम्म विश्वविद्यालयका आंगिक, संयुक्त आंगिक र सम्बन्धनप्राप्त स्कुल, क्याम्पस तथा महाविद्यालयहरूमा कक्षा तथा कार्यक्रमहरू अनलाइन माध्यमबाट यथासम्भव नियमित रूपमा सञ्चालन गर्न अनुरोध गर्दछौँ ।”
यस सम्बन्धमा आवश्यक समन्वय र कार्यान्वयनका लागि सबै पक्षबाट सहयोगको अपेक्षा रहेको थापाले उल्लेख गरेका छन् ।