
काठमाडौं । भारतको उत्तर–पूर्वमा विगत चार दिनदेखि परेको भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ३४ जनाको मृत्यु भएको मौसम विभागका अधिकारीहरूले बताएका छन् । विभागले थप भारी वर्षाको पूर्वानुमान गरेको रोयटर्सले जनाएको छ ।
हिमाली राज्य सिक्किममा फसेका एक हजारभन्दा बढी पर्यटकलाई सोमबार सुरक्षित रूपमा बाहिर निकाल्ने काम भइरहेको सरकारी विज्ञप्तिमा उल्लेख छ । मेघालय राज्यमा पनि सेनाको बचाउ दलले बाढीग्रस्त क्षेत्रमा फसेको ५०० भन्दा बढी मानिसलाई उद्धार गर्न तैनाथ गरिएको छ ।
सिलहट जिल्लामा एकै परिवारका कम्तीमा चारजनाको पहिरोमा मृत्यु भएको बताइएको छ । बिहीबारदेखि रंगामाटी, बन्दरबन र खाग्राछरी जस्ता पहाडी जिल्लाहरूमा सयौँ आश्रय स्थलहरू खोलिएका बताइएको छ । मौसम विभागले थप पहिरो र अचानक बाढीको चेतावनी दिँदै संवेदनशील क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन आग्रह गरेको छ ।
भारतको उत्तर–पूर्व र बंगलादेशमा प्रत्येक वर्ष लाखौँ मानिसहरूलाई प्रभावित पार्ने भारी वर्षा, पहिरो र अचानक बाढी आउने गरेको छ ।
भारतीय समाचार संस्था एएनआईले प्रसारण गरेका दृश्यहरूमा असमको सिलचर सहरको सडक र घरहरू पानीले डुबेको देखिएको छ भने ढलेका रूखहरूले बाटो अवरुद्ध बनाएका छन् ।