
काठमाडौं । अर्बपति र टेस्ला प्रमुख एलन मस्क हालै अमेरिकी सरकारी कार्यदक्षता विभाग (डोज) प्रमुखको पदबाट बिदा भए । यसअघि उनी सरकारी खर्च घटाउने जिम्मेवारीमा नियुक्त भएका थिए । उनले विशेष सरकारी सल्लाहकारको रूपमा काम गरेका थिए ।
यो निर्णय राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उनको पहिलो प्रमुख सार्वजनिक मतभेदपछि आएको हो । ट्रम्प प्रशासनले धेरै प्रचार गरेको कर र खर्च बजेट विधेयक मे २२ मा रिपब्लिकन–नियन्त्रित कांग्रेस (प्रतिनिधि सभा)ले एक मतले पारित गरेको थियो ।
बुधबार सामाजिक सञ्जाल एक्समा गरेको एक पोस्टमा मस्कले प्रशासनसँगको उनको अवधि समाप्त भएको बताएका थिए ।
स्पेसएक्सका संस्थापक मस्कले लेखे, “मलाई संघीय सरकारको फजुल खर्च घटाउने अवसर दिनुभएकोमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिन चाहन्छु ।”
मस्कको ह्वाइट हाउसको कार्यकाल विशेषगरी अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (यूएसएआईडी)लाई विघटन गर्ने उनको प्रयासले गर्दा विवादले घेरिएको थियो । मस्कको बिदाइसँगै डोजको भविष्य के होला र टेस्ला सीईओले के विरासत छोड्न गइरहेका छन् भन्ने प्रश्न खडा भएको छ ।
मस्क कति अवधि डोजमा थिए ?
ट्रम्प प्रशासनमा विशेष सरकारी कर्मचारीको रूपमा मस्कको कार्यकालको अर्थ उनले कुनै पनि ३६५ दिनको अवधिमा १३० दिन मात्र सेवा गर्न पाउँथे र उनले सरकारी भूमिकाबाट कुनै पनि आर्थिक लाभ लिन पाउँदैनथे । मस्कको कार्यकाल चार महिनाभन्दा केही बढी चलेको थियो, जुन अधिकतम कानुनी सीमाभन्दा केही दिन कम थियो ।
अप्रिल महिनाको अन्त्यमा मस्कले चाँडै आफ्नो व्यवसायमा ध्यान केन्द्रित गर्ने र मे महिनादेखि डोजमा भूमिका घट्ने बताएका थिए ।
तर, मस्कले राष्ट्रपतिले चाहेसम्म र आवश्यक परेसम्म सरकारी काममा हप्तामा एक वा दुई दिन खर्च गर्ने उल्लेख गरेका थिए ।
ट्रम्पको कर र खर्च विधेयकसँग मस्क किन असहमत भए ?
समाचार च्यानल सीबीएसको मंगलबार प्रसारित ‘सन्डे मर्निङ’ कार्यक्रमको अन्तर्वार्ताको एक क्लिपमा, मस्कले आफू ठूलो खर्च विधेयक देखेर निराश भएको स्वीकार गरे ।
उनले यो विस्तृत बजेट विधेयक (वन बिग ब्युटिफुल बिले)ले बजेट घाटा बढाउने र डोजमा उनको कामलाई कमजोर पार्ने बताएका थिए । मस्कले पत्रकार डेभिड पोगलाई भने, “मलाई लाग्छ विधेयक ठूलो वा सुन्दर हुन सक्छ । तर मलाई थाहा छैन यो दुवै हुन सक्छ कि सक्दैन । यो मेरो व्यक्तिगत विचार हो ।”
तर बुधबार ट्रम्पले दृढतापूर्वक यो विधेयकको बचाउ गरे । ह्वाइट हाउसमा पत्रकारहरूलाई उनले भने, “हामी यो विधेयकमा कुराकानी गरिरहेका छौँ र यसका केही पक्षहरूले मलाई खुसी बनाएको छैन, तर अरू पक्षहरूले उत्साहित बनाएको छ । यस्तै हुन्छ ।”
यो बजेट विधेयक हजारभन्दा बढी पृष्ठको छ र ट्रम्प प्रशासनले वकालत गरेका विभिन्न घरेलु नीतिलक्षित छन् । यसका प्रावधानमा ट्रम्पको २०१७ को पहिलो राष्ट्रपतिकालमा लागु गरिएका कर कटौतीलाई बढाउने उपाय समावेश छन् । यसले ट्रम्पको प्रस्तावित आप्रवासन र अमेरिका–मेक्सिको सीमामा सुरक्षाको लागि कोष पनि बढाउँछ ।
कर र खर्च विधेयकमा यो असहमति मस्कले ह्वाइट हाउसमा बिताएको समयमा सामना गरेका धेरै चुनौतीमध्ये एक हो ।
मस्कले कुन–कुन मुद्दामा असहमति जनाए ?
ह्वाइट हाउसमा आफ्नो कार्यकालमा मस्कसँग ट्रम्पका धेरै अधिकारीको मतभेद भयो । जसमध्ये एक राष्ट्रपतिको प्रमुख व्यापार सल्लाहकार पिटर नभारो पनि समावेश थिए । विश्वभर व्यापार कर बढाउने ट्रम्पको नीतिलाई लिएर मस्कले नभारोलाई मूर्ख भनेका थिए । मस्कले सार्वजनिक रूपमा मुक्त व्यापार र कम शुल्क साथै अनुमानित कर संरचनाको पक्षमा बढी रहेको बताएका छन् ।
गत अप्रिलमा स्पेसएक्सका संस्थापक मस्कले अमेरिका र युरोपबीच शून्य शुल्कको अवस्थाको आशा व्यक्त गरेका थिए । तर दुवै पक्षले व्यापार सम्झौतामा सहमति नजनाए ट्रम्पले युरोपियन युनियनबाट आयातीत सामानमा ५० प्रतिशत शुल्क लगाउने धम्की दिएका छन् ।
अब डोजको भविष्य के हुन्छ ?
ट्रम्पले जनवरी २० मा आफ्नो पदको शपथ लिँदै डोजको स्थापना गरेका थिए । मस्कको बिदाइपछि यो एजेन्सीको भविष्य अनिश्चित छ, किनभने ट्रम्पले अहिलेसम्म उनको सट्टामा कसैलाई नियुक्त गरेका छैनन् ।
मस्कलाई संघीय कोष घटाउने जिम्मेवारी दिइएको थियो, जसमा सरकारी कर्मचारी घटाउने, सरकारी ठेक्का रद्द गर्ने र सम्पूर्ण एजेन्सी बन्द गर्ने प्रयास समावेश थियो । गत फेब्रुअरीमा उनी र ट्रम्प दुवैले सरकारभित्र विविधता र जलवायु योजनासँग सम्बन्धित अर्बौं डलरको घोटाला पत्ता लगाएको दाबी गरेका थिए । तर पछि यो दाबी झुटो वा भ्रामक प्रमाणित भएको थियो।
बुधबारको आफ्नो पोस्टमा मस्कले भने, “डोजको मिसन समय बित्दै जाँदा बलियो हुनेछ, किनभने यो सरकारको अवधिभर एक जीवनशैली बन्नेछ ।” तर क्यालिफोर्नियाको पेपरडाइन युनिभर्सिटीका कानुनकी प्राध्यापक र पूर्वअमेरिकी कूटनीतिज्ञ कोलिन ग्राफीले डोजको भविष्य अनिश्चित रहेको बताइन् ।
उनले अल जजिरालाई भनिन्, “डोजको शक्ति संसारको धनी व्यक्ति मस्क र संसारको सबैभन्दा शक्तिशाली व्यक्ति ट्रम्पबीचको नजिकको सम्बन्धबाट आएको थियो । डोजले केही समय समस्यासँग संघर्ष गर्न सक्छ, तर मस्कबिना र यसविरुद्धका मुद्दाले गर्दा यसको अन्त्य नजिकै छ । यो कसैले लिन नचाहने नराम्रो जिम्मेवारी हो । ट्रम्पको कर कटौतीले डोजले गरेको कुनै पनि बचतलाई माथ गर्नेछ ।
मस्कको डोज विरासत अब के हुन्छ ?
ट्रम्प प्रशासनमा मस्कको भूमिकाले धेरै विवाद ल्याएको छ । उनले संघीय कर्मचारीको संख्या घटाउने र धेरै सरकारी कोषबाट सञ्चालित कार्यक्रम भत्काउनेजस्ता प्रमुख कदममा निगरानी गरे, जसले व्यापक आलोचना झेल्न पर्यो ।
“एलन मस्कको डोज उनको रकेटजस्तै थियो, जुन उड्नेबित्तिकै विस्फोट हुन्छ र कसरी काम नगर्ने भन्ने उदाहरण बन्छ,” ग्राफीले अल जजिरालाई भनिन्, “फरक यो हो कि एउटामा सिकाइको मूल्य पैसामा तिरिन्छ भने अर्कोमा मानिसहरूको जीवनले,” उनले थपिन् ।
ट्रम्प र मस्कप्रति उठेको प्रमुख आलोचनाको केन्द्रविन्दु यूएसएआईडीको सहयोग गम्भीर रूपमा घटाउने उनको निर्णय थियो । फेब्रुअरीमा वासिङ्टन डीसीमा यो एजेन्सीको मुख्य कार्यालय बन्दप्रायः भएको थियो ।
करिब एक हजार ६०० कर्मचारीहरू बर्खास्त र चार हजार ७०० जनालाई अवकाशमा पठाइएपछि कर्मचारीलाई आफ्ना सामान संकलन गर्न र भवन छाड्न मात्र १५ मिनेट दिइएको थियो । पछि विदेशमन्त्री मार्को रुबियोले यूएसएआईडीले व्यवस्थापन गरेका ८३ प्रतिशत ठेक्का बन्द भएको खुलासा गरे ।
गत मार्चमा, मेरील्यान्डको एक संघीय न्यायाधीशले डोजले यूएसएआईडी भत्काउने प्रयासमा संविधान उल्लंघन गरेको हुन सकने आशंका गरेका थिए । ती न्यायाधीशले यूएसएआईडीसम्बन्धी कर्मचारी घटाउने, भवन बन्द गर्ने, ठेक्का रद्द गर्ने वा यूएसएआईडी सामग्री नष्ट गर्ने डोजका कार्यहरू रोक्न अस्थायी निषेधाज्ञा जारी गरेक थिए ।
उपभोक्ता अधिकार समूह पब्लिक सिटिजनका सह–अध्यक्ष लिसा गिल्बर्टले डोजलाई विनाशको मन्त्र भनेर चित्रण गरिन् ।
उनले अल जजिरालाई भनिन्, “एलन मस्कको विरासत भनेको सरकारी कर्मचारीको रोजगारी सिध्याउने, अमेरिकी शिक्षालाई बाधा पुर्याउने, वैज्ञानिकहरूको कोष खोस्ने र अमेरिकीहरूको निजी गोपनीयता उल्लंघन गर्ने हो । यो सबै भ्रष्ट टेक–उद्योगी अर्बपतिहरूको स्वार्थपूर्तिका लागि गरिएको हो । अन्तर्राष्ट्रिय स्तरमा यसको प्रभाव भयावह छ, किनभने मस्कको यो नीतिले विकासशील देशहरूमा लाखौँ मानिसको अनावश्यक मृत्यु हुनेछ ।”
चाथम हाउसको ‘यूएस एन्ड द अमेरिकास प्रोग्राम’का वरिष्ठ शोधकर्ता म्याक्स योएलीले मस्कको छोटो कार्यकालले अमेरिकी सरकारलाई अपरिवर्तनीय रूपमा परिवर्तन गरेको बताए ।
उनले अल जजिरालाई भने, “डोजले राज्यको क्षमता कमजोर पारेर अमेरिकाको अनुसन्धान र विकास प्रणालीलाई अस्तव्यस्त पारेकाले अमेरिकाको आर्थिक सम्भावना र लचिलोपनमा दीर्घकालीन जोखिम छ, जबकि अदालतहरूले उनको नीति उठाएका कानुनी मुद्दा समाधान गर्न संघर्षरत छन् ।”