
काठमाडौं । चीनले अमेरिकालाई गएको महिना स्वीट्जरल्यान्डको जेनेभामा दुई देशबीच भएको व्यापार सम्झौता ‘गम्भीर रूपमा उल्लंघन’ गरेको आरोप लगाएको छ ।
चीनको वाणिज्य मन्त्रालयले गएको महिना भएको वार्तामा दुवै देशले आयातित वस्तुमा कर घटाउने सहमति गरेको तर अमेरिकाले उक्त सम्झौता कमजोर पारेको भन्दै आफ्नो हितको रक्षा गर्न कडा कदम चाल्ने चेतावनी दिएको बीबीसीले जनाएको छ ।
मन्त्रालयका प्रवक्ताले अमेरिकाको कार्यले गएको जनवरीमा राष्ट्रपति सी चिनफिङ र डोनाल्ड ट्रम्पबीच भएको टेलिफोन वार्तामा गरिएको सहमति पनि गम्भीर रूपमा उल्लंघन गरेको बताएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रबार चीनले अमेरिकासँगको सम्झौता पूर्ण रूपमा उल्लंघन गरेको बताएका थिए । त्यसपछि चीनले यस्तो टिप्पणी गरेको हो । ट्रम्पले चीनले सम्झौताअनुसार गैरकर अवरोध हटाउन नसकेको आरोप लगाएका थिए ।
जेनेभामा मेमा गरिएको व्यापार सम्झौताअनुसार अमेरिका र चीनले एकार्काबाट आयात गरिने वस्तुमा लगाइएका कर क्रमशः १४५ बाट ३० र १२५ बाट १० प्रतिशतमा घटाएका थिए ।
सोमबार चीनले चिनियाँ कम्पनीलाई कम्प्युटर चिप डिजाइन सफ्टवेयरको बिक्री रोक्नु, चिनियाँ प्रविधि कम्पनी हुवावेद्वारा बनाइएका चिप प्रयोग नगर्न चेतावनी दिनु र चिनियाँ विद्यार्थीको भिसा रद्द गर्नु अमेरिकाले उल्लंघन गरेका विषय भएको जनाएको छ ।
विश्लेषकका निम्ति जेनेभामा प्राप्त भएका उपलब्धि आश्चर्यजनक थियो । दुवै पक्ष यसअघि धेरै व्यापार मुद्दामा अत्यन्तै टाढा देखिन्थे । तर, हाल दुई देशबीच पुनः तनाव बढ्दै जाँदा उक्त सहमतिको कमजोरी उजागर भएको र दीर्घकालीन व्यापार सम्झौता प्राप्त गर्न चुनौतीपूर्ण हुन सक्ने संकेत देखिएको जनाइएको छ ।