
काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका ६ जनालाई प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
मन्त्रिपरिषद्को ०८२ वैशाख १५ गतेको निर्णयअनुसार चन्द्र कुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा.मनोजकुमार केसी नायव महानिरीक्षक (डीआईजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका थिए ।
उनीहरूलाई आईजीपी थापाले बुधबार एक समारोहबीच दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । बढुवा भएका एआईजीहरूलाई सांगठनिक सुदृढीकरण तथा शुद्धीकरण र संगठनको वृहत्तर हितका लागि अझ बढी निष्पक्ष र पारदर्शी भई सामूहिक भावना तथा उच्च मनोबलका साथ कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।
सरकारले एआईजी खापुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी, आचार्यलाई नेपाल प्रहरी प्रधान कार्यालयको कार्य विभाग, पोखरेललाई प्रशासन विभाग, कार्कीलाई मानवश्रोत विकास विभाग, अधिकारीलाई अपराध अनुसन्धान विभाग र डा.केसीलाई प्रदेश समन्वय विभागको जिम्मेवारी तोकेको छ ।