
काठमाडौं । यौन अपराधमा दोषी ठहर प्रवासीले ब्रिटेन (यूके)मा शरणार्थीको दर्जा दाबी गर्न नपाउने गरी कानुन परिवर्तन गरिएको छ । यूकेले आफ्नो सीमा सुरक्षा कडा बनाउने उद्देश्यले यस्तो गरेको बीबीसीले जनाएको छ ।
यूकेमा यसअघि आतंककारी क्रियाकलाप, युद्ध र अरू अपराधमा एक वर्षभन्दा बढी जेल बसेका व्यक्तिले मात्र शरणार्थी दर्जा दाबी गर्न नपाउने व्यवस्था थियो । तर, अब यूकेमा यौन अपराधको कसुरमा जुनसुकै अवधिको सजाय पाएका व्यक्तिले शरणार्थीको दर्जा पाउने छैनन् ।
यसले कति असर पार्छ वा पहिले कति दाबी स्वीकार गरिएको थियो भन्ने स्पष्ट छैन ।
ब्रिटिस गृहमन्त्री यभेट कुपरले कानुनमा गरिएको यो परिवर्तनले अपराधलाई गम्भीरतापूर्वक लिइन्छ र छुट दिइँदैन भन्ने स्पष्ट भएको बताइन् । तर, त्यहाँको कन्जरभेटिभ पार्टीका नेताहरूले यो प्रावधान अपर्याप्त र धेरै ढिलो ल्याइएको टिप्पणी गरेका छन् ।