
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमशिलताको विकास नगरी रोजगारीको अवसर सिर्जना हुन नसक्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले उद्यमशिलताबाट रोजगारीको अवसर सिर्जना हुने उल्लेख गरे ।
सरकारी रोजगारीले एक प्रतिशतलाई मात्रै धान्नसक्ने अवस्था रहेको बताए । हरेक वर्ष बजारमा पाँच लाख युवा रोजगारीका लागि आउने गरेको उल्लेख गरे । रोजगारीको समस्या समाधान गर्न उद्यमशिलता विकासको विकल्प नरहेको बताए ।
“युवाले हाल जे–जस्तो छ, त्यसैमा सन्तोष मान्नु हुन्न । परिवर्तनका लागि र राम्राका लागि लाग्ने स्वभाव बोक्नुपर्छ । असन्तोष मान्नुपर्छ भन्नुको अर्थ सामाजिक सञ्जालमा मुख छाड्ने प्रवृत्तिहरू पनि ठीक होइन, त्यस्तो गर्नेहरू उल्टै पारिवारिक तनावमा परेका हुन्छन्,” प्रधानमन्त्री ओलीले भने, “अब युवाले रोजगारी खोज्नेतिर होइन, सृजना गर्नेतिर लाग्नुपर्छ । उद्यमशीलता, रोजगारी, बजारीकरण र नयाँपनका माध्यमबाट स्वदेशमै अवसर छ भन्ने देखाएर कामकै लागि युवा विदेश जानेक्रम रोक्नुपर्छ ।”