
काठमाडौं । धनुषाको सहिदनगर नगरपालिका–५, वासुदेवपट्टीमा भएको विष सेवन घटनामा उपचाररत आमा पविताकुमारी साहको पनि मृत्यु भएको छ ।
३० वर्षीया पविताकुमारी साहको शुक्रबार बिहान पौने १० बजे जनकपुरधामस्थित रामजानकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) वरुणबहादुर सिंहले जानकारी दिए ।
पविताका तीन सन्तानको ज्यान गइसकेको छ । गत सोमबार साँझ आफ्नै घरमा पविता आफ्ना तीन सन्तानसहित अचेत अवस्थामा फेला परेकी थिइन् । सोही दिन उनका ६ वर्षीय छोरा आदित्य साह, चार वर्षीया छोरी आकृति साह र दुई वर्षीया छोरी आरुसी साहको मृत्यु भएको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घरायसी विवादका कारण पविताले आफ्ना तीन सन्तानलाई विष खुवाएर आफैँले पनि सेवन गरेकी थिइन् । नौ महिनाकी गर्भवती रहेकी पविताको शल्यक्रिया गरी गर्भमा रहेका शिशुलाई निकालिएको थियो । हाल शिशुको अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।