
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय पुरुष क्रिकेट टिमका मुख्यप्रशिक्षक स्टुअर्ट ललाई शनिबार सार्वजनिक गर्ने भएको छ ।
यसअघि, क्यानले सामाजिक सञ्जालमार्फत अस्ट्रेलियाका पूर्वक्रिकेटरलाई नेपाली टिमको प्रशिक्षण जिम्मेवारी सुम्पिएको जनाएको थियो । क्यानका अनुसार, ललाई मूलपानीस्थित क्यानको केन्द्रीय कार्यालयमा शनिबार बिहान सार्वजनिक गरिनेछ । ल आज राति ८ बजे नेपाल ओर्लिने तालिका छ ।
क्यानले लसँग दुई वर्षका निम्ति सम्झौता गरेको छ । अस्ट्रेलियाका पूर्वब्याटर लले ५४ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । यसक्रममा उनले एक शतक र सात अर्धशतकसहित एक हजार २३७ रन बनाएका छन् । यस्तै, उनले एक अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा अविजित ५४ रन बनाएका थिए ।
उनले यसअघि श्रीलंका, बंगलादेश, वेस्टइन्डिज, अफगानिस्तान र अमेरिकाको मुख्यप्रशिक्षण सम्हालेका थिए ।
यसअघिका प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता नवीकरण नगर्ने भएपछि नेपाली टिम प्रशिक्षकविहीन थियो ।