site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
केही 'पेड' मान्छेबाट भ्रम फिजाउने प्रयास हुँदै छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अब युवाले देशलाई अघि बढाउनुपर्ने बताएका छन् । बिहीबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित 'युथ सेलिब्रेसन'मा प्रधानमन्त्री ओलीले अब युवाले देशको चिन्ता लग्नुपर्ने बताए ।

“युवा साथीहरूलाई भन्न चाहन्छु, अब तपाईंहरूले देशलाई अघि बढाउनुपर्नेछ, देश कस्तो बनाउने ? जन्मिँदै श्रेष्ठताको कुनै वैधानिक आधार नभएको पाखण्डी सिद्धान्त कुल घरानका आधारमा,  जन्मका आधारमा श्रेष्ठता भनेर चलाइने अवैज्ञानिक एउटा पाखण्डी सिद्धान्तका आधारमा शासन गर्न खोज्ने सामन्ती युगलाई फेरि फर्काउने आवाज पनि कताकता सुनिन थालेको छ । त्यस नाममा लोकतन्त्र नमान्ने, जनताको अभिमतको अपमान गर्ने, संघर्षको अपमान गर्ने काम भएको छ,” उनले भने । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले व्यक्तिका घरमा आगजनी गर्ने, पार्टीका कार्यालय, व्यपारिक प्रतिष्ठान, सञ्चारगृह तोडफोड गरेर कस्तो तानाशाही ल्याउन खोजेको भनेर देखाएको समेत बताए ।

“जंगली होइन, राक्षसी प्रवृत्ति देखाएर फेरि जनतामाथि कस्तो शासन थोप्न खोजेका छन् ? कुन तानाशाही ल्याउन खोजेका छन् भन्ने स्पष्ट देखाएको छ । युवाहरूले देखिने, सुनिने, बुझिने गरी अस्वीकार गर्न आँट गर्नुपर्दछ । र, यस्ता कुरालाई अस्वीकार गर्दै देशको संविधान, लोकतन्त्रको रक्षा गर्ने काम गर्नुपर्दछ,” उनी भन्छन् । 

उनले केही तत्त्वले मानिसहरूमार्फत युवा आफ्नो साथमा रहेको बताएर भ्रम छर्ने प्रयास गरिरहेको पनि बताए । “केही मानिसहरूलाई विभिन्न सामाजिक सञ्जालमा खटाएर, 'पेड' केही मान्छेहरूबाट देशभरि भ्रम फिजाउने प्रयास भइरहेको छ । त्यस कारण यस्ता कुरामा सचेत र सजग रहन जरुरी छ,” ओलीले भने ।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १८:११
प्रतिक्रिया दिनुहोस्