
काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा)ले द हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) आयोजना गर्ने भएको छ । नेबाले बिहीबार पत्रकार सम्मेलन गर्दै वैशाख २० गतेदेखि लिग हुने जानकारी दिएको हो ।
पहिलोपटक आयोजना हुन लागेको प्रतियोगिताका खेलहरू आइतबार मंगलबार, बुधबार र शनिबार खेलाइने छ ।
आयोजकका अनुसार प्रतियोगितामा ६ बास्केटबल क्लबको सहभागिता रहनेछ । जसअनुसार टाइम्स, हाउण्ड्स, कीर्तिपुर, रोयल्स, गोल्डेनगेट र सामाखुसी बास्केटबल क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा कुल ३२ खेल सञ्चालन हुनेछन् । लिग चरणमा सहभागी टोलीले एक अर्कासँग दुई खेल खेल्नेछन् । प्रतियोगिता आयोजनाका लागि यसअघि नै नेपाल बास्केटबल संघ र हिमालयन जाभाबीच सम्झौता भइसकेको छ । प्रतियोगिताको अनुमानित बजेट १५ लाख रुपैयाँ छ । प्रतियोगिताको पुरस्कारको घोषणा भने पछि गरिने आयोजकले जनाएको छ ।