
काठमाडौं । भारतका गृहमन्त्री अमित शाहले बुधबार अनन्तनागस्थित सरकारी मेडिकल कलेज (जीएमसी) अस्पताल पुगेर पहलगाम आतंकवादी आक्रमणमा घाइते भएका व्यक्तिहरूको अवस्था बुझेका छन् ।
मंगलबार पहलगामको बाइसारन घाँसे मैदानमा भएको आतंकवादी आक्रमणमा केही व्यक्तिको ज्यान गएको थियो भने धेरैजना घाइते भएका थिए । सन् २०१९ को पुलवामा हमलापछि यो कश्मीर उपत्यकामा भएको सबैभन्दा ठूलो आक्रमण मानिएको छ ।
बुधबार बिहान गृहमन्त्री शाह घटनास्थल बाइसारन मैदान पुगेका थिए । उनले हेलिकोप्टरमार्फत हवाई निरीक्षण गर्दै प्रत्यक्ष रूपमा मैदानको अवस्थाबारे जानकारी लिए ।
त्यसअघि, श्रीनगरको प्रहरी नियन्त्रण कक्षबाहिर आयोजित श्रद्धाञ्जली कार्यक्रममा गृहमन्त्री शाहले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरे र पीडित परिवारजनहरूसँग भेट गरे ।
उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत शोक व्यक्त गर्दै भारत आतंकवादका अगाडि झुक्ने छैन भन्ने दृढ प्रतिबद्धता व्यक्त गरे ।
“पहलगामको आतंकवादी आक्रमणमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण छ । भारत आतंकवादका अगाडि झुक्ने छैन । यस क्रूर आक्रमणका दोषीहरूलाई उन्मुक्ति दिइने छैन,” गृहमन्त्री शाहले भने ।