
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी ऐन निकै पुरानो भएकाले काम गर्न समस्या भएको बताएका छन् ।
नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले भूमिसम्बन्धी ऐन परिमार्जनको तयारी भइरहेको बताए । भूमिसम्बन्धी ऐन निकै पुरानो भएकाले काम गर्न समस्या देखिएकाले परिमार्जनको तयारी भइरहेको उनको दाबी छ ।
नयाँ नापी ऐनको ड्राफ्ट समेत मन्त्रालय तयार गरेको जानकारी दिँदै मन्त्री अधिकारीले अब मन्त्रिपरिषद्मा लैजाने जानकारी दिए । स्वबासी, गुठीलगायत जग्गामा देखिएको समस्या समाधान गर्न समिति गठन गर्ने र त्यसको प्रतिवेदनका आधारमा सरकारले आवश्यक निकास निकाल्ने उनले उल्लेख गरे ।
जग्गा तथा आवास कारोबारलाई सहज गर्न उद्योगका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए । मन्त्री अधिकारीले घरजग्गा व्यवसायमा देखिएका नकारात्मक भाष्यलाई चिर्दै मुलुकको प्रचलित कानुनअनुसार व्यवसाय सञ्चालन गर्न आग्रह गरे ।