
चितवन । नेपालको अग्रणी हस्पिटालिटी चेन ब्रान्ड सिद्धार्थ हस्पिटालिटीले चितवनको नारायणगढमा सेवा विस्तार गरेको छ । साविकको होटेल सेन्ट्रल पामलाई ‘सिद्धार्थ होटेल चितवन’ नामबाट सञ्चालनमा ल्याइएको सिद्धार्थ बिजनेस ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले जानकारी दिए ।
नारायणी नदी किनारमा रहेको प्रिमियम प्रपर्टीमा अब प्रिमियम सेवा उपलब्ध गराउने उद्देश्यले होटेल सञ्चालनमा ल्याइएको उनको भनाइ छ । “सिद्धार्थको चेन हस्पिटालिटी विस्तार र सुलभ मूल्यमा गुणस्तरीय सेवा दिने उद्देश्यले सिद्धार्थले होटेलको व्यवस्थापनको जिम्मेवारी लिएको हो,” उनले भने । प्रकृतिमा रमाउने र प्रिमियम सेवा लिन चाहनेका लागि यो उपयुक्त गन्तव्य भएको न्यौपानेको भनाइ छ ।
करिब २५ रोपनीमा फैलिएको होटेलमा स्वीट, सुपर डिलक्स र डिलक्स गरी ४४ वटा कोठा छन् । साथै, माया डाइनिङ रेस्टुरेन्ट पनि सञ्चालनमा छ । जंगल सफारीको रमाइलोका साथै सुपारी र नरिवल लगायतका फलको बगैँचा समेत रहेको होटेल नारायणघाट पुल्चोकबाट जम्मा ५०० मिटर दुरीमा अवस्थित छ । बजारनजिक तर शान्त वातावरणमा समय बिताउन चाहनेका लागि भरपर्दो होटेल हुने जनाइएको छ ।
होटेलमा स्वीमिङ पुलका साथै थिएटर सेटअपमा चार सयजना अट्ने क्षमताको सभाहल, करिब ५० जना अट्ने क्षमताको बोर्ड रुम पनि छ । कम्पनीले हाल भएको पूर्वाधारमा लगानी थप गरी सुविधा विस्तारको पनि योजना बनाएको छ ।
सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णप्रसाद न्यौपानेले आगामी दिनमा लगानी वृद्धि गरी होटेलको स्तरोन्नति पनि गरिने बताए । “होटेलमा हाल ४४ वटा रुम छन्, आगामी दिनमा ६० वटा बनाउने योजना छ, साथै तीनवटा सम्मेलन हलका साथै स्वीमिङ पुलको पनि स्तरोन्नति गरिनेछ,” सीईओ न्यौपानेले भने । होटेलमा स्पा सुविधासहित हेल्थ क्लब र पुलसाइड बारको पनि सविधा थप हुनेछ ।
सिद्धार्थ ग्रुपको सिद्धार्थ हस्पिटालिटीअन्तर्गत हाल विभिन्न ब्रान्डमा ३० भन्दा बढी कम्पनी सञ्चालनमा छन् । कम्पनीका अनुसार पाँचतारे स्तरमा सिद्धार्थ भिलासा, चारतारे स्तरमा सिद्धार्थ वैभव, तीनतारे स्तरका सिद्धार्थ बाटिकाअन्तर्गत विभिन्न होटेल सञ्चालनमा छन् । त्यसबाहेक विभिन्न स्थानमा सिद्धार्थ कटेज रेष्टुरेन्ट, रिसोर्ट तथा एस क्याफे पनि सञ्चालन गरिरहेको छ । हाल सिद्धार्थ ग्रुपअन्तर्गत दुई हजार ५०० भन्दा बढीले रोजगारी पाइरहेका छन् ।