site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ललितपुर महानगरमा मानिस होइन फाइल घुम्छ, पर्यटकलाई ई–बग्गी सरर...

काठमाडौं । मेयर चिरिबाबु महर्जनले आउँदो जेठमा दोस्रो कार्यकालका लागि ललितपुर महानगरपालिकाको बागडोर सम्हालेको तीन वर्ष पुग्दै छ ।  आफ्ना पुरानै प्रतिबद्धताबमोजिम काम गर्दै आएका महर्जन पछिल्लो एक वर्ष पनि चर्चामै रहे । उनले यो अवधिमा सम्पदा नगरी क्षेत्रमा ई–बग्गी र कार्यालयमा एकद्वार प्रणालीले उनको चौतर्फी प्रशंसा पाए ।

पहिलोपटक ०७४ सालमा नेपाली कांग्रेसबाट ललितपुरको मयेरमा निर्वाचित भएका थिए । 

आफ्नो पहिलो कार्यकाल पूरा भएपछि महर्जनले ललितपुर महानगरलाई मुलुककै अब्बल र अनुकरणीय काम गर्ने स्थानीय तहको रूपमा चिनाउन सफल भएको दाबी गरेका थिए । उक्त समयमा विदेश भ्रमणमा बढी गएको भन्दै उनको आलोचना भएको थियो ।

०७९ मा भएको स्थानीय तह निर्वाचनबाट उनी दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका थिए । 

मेयर महर्जन यतिबेला चीन भ्रमणमा छन् । उनले आफ्नो पछिल्लो एक वर्षमा गरेका काममध्ये मुख्य कामको सूचीमा राखेका छन्, “मान्छे होइन, कार्यालयमा फाइल कुद्ने सिस्टम ।”

कार्यालयमा मान्छे होइन, फाइल कुद्छ  

महानगरपालिकाले पुस ३ गतेदेखि मान्छे होइन, फाइल कुद्ने सिस्टमको विकास गरेको छ । 

मेयर, उपमेयर प्रमुख प्रशासकीय अधिकृत जसको फाइल आए पनि सिस्टमअनुसार एकद्वार प्रणालीबाटै प्रक्रियामा जाने गरेको महानगरका प्रवक्ता राजु महर्जनले बताए । 

“पहिले मानिस फाइल बोक्दै विभाग–विभागमा कुद्नुपर्ने अवस्था थियो । तर, अब मानिस होइन फाइल आफैँ कुद्छ । मेयर, उपमेयर जसको फाइल भए पनि एकद्वार प्रणालीबाटै जाने गरेको छ,” महर्जनले भने । 

महानगरका अनुसार सेवाग्राहीको फाइल अनलाइनमा दर्ता गर्नुपर्छ । त्यसपछि फाइल अगाडि बढ्छ । 

“यस सिस्टममा फाइल बुझाएपछि त्यो फाइल कुन विभागमा पुग्यो, कुन महाशाखामा पुग्यो भनेर सेवाग्राहीलाई जानकारी दिइन्छ । काम सकिएपछि एकद्वार प्रणालीमै पुनः भुइँतलामा फाइल आइपुग्छ । यतिबेलासम्म सेवाग्राहीलाई तपाईंको काम सकियो । फाइल लिन आउनुस् भनी मोबाइलमा म्यासेज गइसकेको हुन्छ,” महर्जनले भने । 

महर्जनका अनुसार, तत्काल हुनसक्ने कामलाई तत्काल र समय लाग्ने कामलाई त्यहीबमोजिमको प्रतिक्रिया दिइन्छ । कुनै कागजात नपुगेको खण्डमा पनि अनलाइनबाटै अपलोड गर्न सकिन्छ । 

“कोठा–कोठामा फाइल लिएर जाँदा धेरै समय लाग्ने झन्झट हुन्थ्यो । तर, अब यो सिस्टमले सबै कुराको समाधान गरिदियो । सेवाग्राहीहरू अत्यन्तै खुसी हुनुहुन्छ,” महर्जनले भने । 

महानगरका अनुसार, भुक्तानी लिने काम पनि अनलाइनमार्फत हुने गरेको छ । त्यस्तै, महानगरपालिकाले भवन निर्माणका लागि नक्सा पास गर्न पनि विद्युतीय प्रणाली सेवा लागु गरेको छ । 

प्रवक्ता महर्जन भन्छन्, “घरमै बसेर नक्सा पास गर्न सकिन्छ । नक्सा पासका प्रक्रिया कहाँ पुग्यो भनी एसएमसमार्फत् जानकारी प्राप्त गर्न सकिन्छ ।”

महानगरले सुचारु गरेका यो सिस्टमलाई मेयर महर्जनको पछिल्लो वर्षको प्रमुख काम मानिएको जनाएको छ । 

नक्खुखोलामा तीनवटा पुल निर्माण 

मेयर महर्जनकी प्रेस सहजकर्ता रमा लुइँटेलका अनुसार, नख्खुखोलामा तीनवटा फरक–फरक मोटरेबल पुल निर्माण भएका छन् । 

“नख्खुखोलामा फरक–फरक तीनवटा पुल निर्माण सकिएर सञ्चालनमा आएका छन् । यसले सुनाकोठी, भैँसेपाटी, बुङमती र खोकनाका सर्वसाधारण मध्यसहरसम्म आइपुग्ने दूरी छोटिएको छ । उहाँहरू सजिलैसँग ललितपुरको मध्यसहर आउन सक्नुहुन्छ,” उनले भनिन् । 

पुल निर्माणमा निरन्तर प्रगति गर्दै स्थानीय सुरक्षा र सवारी दुर्घटना न्यूनीकरण गर्ने महानगर प्रमुख महर्जनको प्रतिबद्धता छ ।  महानगर वडा नम्बर १३ कुसुन्तीको चक्रपथमा लिफ्टसहितको अपांगतामैत्री आकाशे पुलको निर्माण हुने भएको छ ।

एकान्तकुना यातायात कार्यालयबाट सातदोबाटोतर्फ करिब पाँच मिटरको दूरीमा आकासेपुल बन्नेछ ।  यसको लागत चार करोड ६८ लाख छ । आकाशे पुल निर्माण निम्ति लामा–प्रगति–मणि–बुद्ध जेभीले महानगरसँग गत फागुन २० गते सम्झौता भएको थियो । 

सम्पदा क्षेत्रमा (इलेक्ट्रिक रिक्सा) ई–बग्गी सरर... 

महानगरले फागुन १९ गतेदेखि (इलेक्ट्रिक रिक्सा) ई–बग्गी सञ्चालनमा ल्याएको छ ।  पुल्चोक, महापाल, मंगल बजार, पाटन सुन्धारा हुँदै बुद्ध बिहारसम्म ई–बग्गी (इलेक्ट्रिक रिक्सा) गुड्न थालेको महानगरका नगरप्रहरी प्रमुख सीताराम हाछेथुले बताए । 

“बिहान १० देखि साँझ ६ बजेसम्म पुल्चोकदेखि बुद्ध विहारसम्म ई–बग्गी पुग्दै फर्किन्छ । ललितपुरका विभिन्न सम्पदा क्षेत्र पर्यटीय स्थलमा घुमाउन ई–बग्गी ल्याएका हौँ,” हाछेथुले भने ।

महानगरले अब क्रमशः चारवटा ई–बग्गी किन्ने र व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने तयारी गरेको छ । ई–बग्गीमा चालकसहित सातजना चढ्न मिल्छ । 

हाछेथुका अनुसार, इलेक्ट्रिक रिक्सा वातावरणमैत्री हुनुका साथै साना–साना गल्लीमा पनि जानसक्छ । 

अत्यन्तै प्रभावकारी देखिएकाले निकट भविष्यमा लगनखेल कुमारीपाटी, जावलाखेल हुँदै पुल्चोकसम्म चलाउने तयारी महानगरको छ । 

फोहोरमैला व्यवस्थापनका निम्ति एप सञ्चालनमा

महानगरपालिकाको १०६औँ वार्षिकोत्सवको अवसरमा फोहोर–मैला व्यवस्थापन सहजीकरण निम्ति महानगरले ‘एलएमसी गार्बेज अलर्ट एप’ सञ्चालनमा ल्याएको छ ।  प्लेस्टोरबाट डाउनलोड गर्न सकिने एपले फोहोरका गाडी कहाँ पुग्यो, कहाँ आइपुग्यो भनी मोबाइलबाटै हेर्न मिल्छ । 

महानगरका प्रवक्ता महर्जनका अनुसार, फोहरमैला संकलन गर्ने सवारीसाधनमा जीपीएस सेवा प्रणाली जडान गरिएको हो ।  “फोहोरको गाडी कहाँ पुग्यो भनेर मोबाइलबाट हेर्न सकिन्छ । यसले फोहोरको गाडी कुर्नुपर्ने बाध्यता हटेको छ,” महर्जनले बाह्रखरीसित भने । 

यो एपबाट महानगरवासीले घरमै बसेर मोबाइलबाट फोहोरका गाडी कहाँ पुग्यो भन्ने जानकारी लिन सक्ने महानगरले जनाएको छ ।  पहिला फोहोर व्यवस्थापनमा घण्टी तथा सिटी फुकेपछि मात्रै फोहोर बाहिर ल्याउने प्रचलन थियो । 

फुटपाथ व्यवस्थापनमा अब्बल 

काठमाडौं महानगरले फुटपाथ व्यापारीमाथि लछारपछार र दुव्र्यवहार गरिरहँदा ललितपुुरले भने फुटपाथ व्यापारीलाई ठाउँ छुट्याएर व्यवस्थापन गर्दै आएको छ ।  चिरिबाबुको सुरुवाती कार्यकालमा महानगरले धरपकडकै नीति लिएको थियो । तर, पछिल्लो समय विकल्प दिँदै साना व्यापारीलाई ठाउँ छुट्याइदिएको महानगरका नगरप्रहरी प्रमुख सीताराम हाछेथुले बताए ।

“बिहान–बेलुका समय र स्थान तोकेर गरिखान दिनुपर्छ । नगर प्रहरी भन्नासाथ सामान उठाउने र धपाउने भन्ने फुटपाथ व्यापारीमा छाप परेको छ । तर, हामीले व्यवस्थापन गरेका छौँ,” उनले भने ।

उनका अनुसार, लगनखेललगायत क्षेत्रमा बेलुकी ५ देखि ७ बजेसम्म फुटपाथ व्यापार गर्न पाइन्छ । त्यस्तै, बिहान ८ बजेसम्म आवागमनमा असर नपर्ने गरी व्यापार गर्न पाइन्छ । 

दुई पोखरी पुनर्निर्माण 

लगनखेल बटुकभैरव मन्दिरअगाडिको लिच्छवीकालीन सप्तपाताल पोखरी पुनर्निर्माणका काम सुरु भएको उनले बताए ।  “लिच्छवीकालीन सप्तपालत पोखरीको काम सुरु भएको छ । अबको केही समयमै राजकुलो पोखरीमा मिसाउने योजना छ,” उनले भने । 

लिच्छवीकालीन इतिहास बोकेको उक्त पोखरी पुनः निर्माणसँगै वरिपरि हरियाली रुख रोप्ने काम भइरहेको छ । पोखरी पुननिर्माण गर्न महानगरले ३७ लाख ५० हजार रुपैयाँ छुट्याएको छ । यसका लागि शिव निर्माण सेवासँग महानगरले सम्झौता गरेको छ । 

महानगरले (फागुन १२) लगनखेलस्थित ५ नम्बर वडा कार्यालय भवनसहित १२ सटरमा डोजर चलाएर मल्लकालीन न्हुँ पोखरी पुनर्जागरणको काम सुरु गरेको छ । 

ललितपुर–५ का वडाध्यक्ष विकासमान श्रेष्ठका अनुसार, ०७६ सालमा उक्त पोखरी संरक्षण गर्न गुरुयोजना तयार गरी काम सुरु गरिएको थियो । तर, बजेट अभावका कारण पोखरीको घेराबार र संरक्षण हुन सकेको थिएन । ०८२ असार ३१ गतेसम्म पोखरीका सबै काम सकाउने महानगरको योजना छ ।

महानगरको स्मार्ट सिटीअन्तर्गत स्वच्छ वातावरण, तालतलैया, पोखरी, हरियाली, बाईसाइकल लेन, पूर्वाधार विकास, सरसफाइ, विद्युत् तार व्यवस्थापन, फुटपाथ व्यवस्थापन, ट्राफिक व्यवस्थापनलगायत नगरवासीसँग प्रत्यक्ष सरोकार राख्ने काम भइरहेको जानकारी प्रवक्ता महर्जनले दिए । 
 

 

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १४:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro