
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालगन्जमा राप्रपाका कार्यकर्ताले बीपीको सालिकमा कालोमोसो दल्ने र तोडफोड गर्ने धृष्टता गरेको भन्दै आपत्ति जनाएका छन् ।
राजावादी आन्दोलनका संयोजक धवलशमशेरको गृहनगरमा भएको यो घटनालाई कांग्रेसभित्रका संवैधानिक राजसंस्थाका हिमायतीले सन्देशका रूपमा बुझ्नु पर्ने उनले बताएका छन् ।
“राजतन्त्र होइन, राजसंस्था पुनर्स्थापनाको आन्दोलनमा हो राप्रपा भन्नेहरूले नेपालगन्जमा बीपीको सालिकमा कालोमोसो दल्ने र तोडफोड गर्ने धृष्टता गरेछन्,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “अब आफैँ बुझ्नुहोस् राजावादीहरू के चाहन्छन् ? आन्दोलनका संयोजक धवल शमशेरको गृहनगरीबाट दिएको सन्देश हो, कांग्रेसभित्रका संवैधानिक राजसंस्थाका हिमायतीहरूलाई ।”
नेपालमा लोकतन्त्र र राजसंस्था सँगै जान नसक्ने दाबी गर्दै उनले पूर्वराजा ज्ञानेन्द्रको शासन बेहोर्नु परेको भए बीपी पनि गणतन्त्रका पक्षमा उभिने बताएका छन् ।
किनकि बीपीको समयमा बीपीभन्दा गिरिजाप्रसाद कोइराला बढी संवैधानिक राजसंस्थाको हिमायती भएको भन्दै उनले गिरिजाप्रसादकै पालामा गणतन्त्र आएको स्मरण गराएका छन् ।
बीपीको सालिकमा कालोमोसो दलिएको विषयमा कांग्रेस नेता मौन रहेका बेला एमाले महासचिव पोखरेलले यस्तो धारणा राखेका हुन् ।