site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने कुनै पनि गतिविधि स्वीकार्य छैन’

काठमाडौं । विभिन्न राजनीतिक दलसम्वद्ध युवा संगठनले नेपाली जनताले बलिदानपूर्ण संघर्षबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने कुनै पनि गतिविधिलाई स्वीकार गर्न नसकिने स्पष्ट पारेका छन् ।

उनीहरूले शुक्रबार संयुक्त विज्ञप्ति प्रकाशित गरी भनेका छन्, “हामी गणतन्त्रका लागि लड्ने राजनीतिक दलका युवा संगठनहरू स्पष्ट रूपमा चेतावनी दिन चाहन्छौँ कि संविधान र लोकतान्त्रिक मूल्यमान्यताविपरीत गरिने कुनै पनि गतिविधि अस्वीकार्य र अक्षम्य हुनेछ ।”

Argakhachi Cement Island Ad

काठमाडौंको तीनकुने, कोटेश्वर र जडीबुटीलगायत क्षेत्रमा देखाएको उदण्डता, अराजकता र हिंसाको हामी घोर निन्दा र भर्त्सना गदैृ संयुक्त विज्ञप्तिमा संविधानविपरीतका गतिविधि गर्ने, समाजमा विखण्डन ल्याउने, हिंसा भड्काउने तथा गणतन्त्रविरोधी षड्यन्त्र गर्ने कुनै पनि समूह वा व्यक्तिलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन उनीहरूले आग्रह गरेका छन् ।

विज्ञप्तिमा देश शान्ति र समृद्धिको दिशातर्फ गइरहेको वर्तमान सन्दर्भमा प्रतिगमनका नाममा मुलुकलाई उल्टो बाटोतर्फ लैजानेगरी आपराधिक तवरले गरिएको सार्वजनिक सम्पत्ति, सवारीसाधन, सञ्चारगृह तोडफोड एवं सुपरमार्केटमा लुटपाट मच्चाएर समाजलाई आतंक सृजना गरिएकामा आपत्ति प्रकट गरिएको छ ।

उनीहरूले आमनागरिकलाई लोकतान्त्रिक प्रणालीलाई अझै समृद्ध गर्न, कमीकमजोरी सच्याउन खबरदारी गर्न, सामाजिक स्थायित्व र समृद्धिका लागि व्यवस्थाविरूद्ध हुने यस्ता अपराधजन्य कार्यप्रति सचेत रहन आह्वान गरेका छन् ।

“संघीय लोकतान्त्रिक गणतन्त्र कुनै पनि प्रतिगामी शक्तिको षड्यन्त्रबाट ढल्ने छैन । संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै सशक्त रूपमा संस्थागत गर्न हामी निरन्तर कार्य गरिरहने प्रतिबद्धता व्यक्त गर्छौँ,” संयुक्त विज्ञप्तिमा भनिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ यस्ता अपराधजन्य गतिविधि कायम रहेमा आफूहरूले कडा प्रतिवाद गर्ने चेतावनीसमेत विज्ञप्तिमार्फत दिइएको छ ।  

यसरी संयुक्त विज्ञप्ति जारी गर्नेमा नेपाल तरूण दलका अध्यक्ष विद्वान गुरूङ, राष्ट्रिय युवासंघ नेपालका अध्यक्ष क्षितिज थेवे, योङ कम्युनिस्ट लिगका अध्यक्ष सुवोध शेर्पाली, युवा संगठन नेपालका अध्यक्ष दिनेश सी, नेपाल समाजवादी युवा संघका अध्यक्ष मेघराज तामाङ छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  २२:४७
प्रतिक्रिया दिनुहोस्