
काठमाडौं । गणतन्त्रविरुद्ध राजावादीहरूको आन्दोलन सञ्चालन गर्न ८६ वर्षीय पूर्वमहापञ्च नवराज सुवेदीको नेतृत्वमा ‘राजा फर्काउने समिति’ गठन भयो । सुवेदी पञ्चायतकालीन मन्त्री र राष्ट्रिय पञ्चायतका अन्तिम अध्यक्ष हुन् ।
त्यही समितिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणा र दुर्गा प्रसाईंको नेतृत्वमा जनपरिचालन समिति गठन गर्यो । त्यही समितिको आह्वानमा आज ‘गणतन्त्रविरुद्ध विरोध प्रदर्शन’को कार्यक्रम घोषणा भयो ।
समाजवादी मोर्चाले पनि आज गणतन्त्रका पक्षमा प्रदर्शन र सभा घोषणा गरेको थियो । गृह प्रशासनले राजावादीलाई काठमाडौंको तीनकुने र गणतन्त्रवादीलाई प्रदर्शनीमार्ग तोकिदियो ।
गणतन्त्रवादीको प्रदर्शन सभाकै रूपमा सीमित हुँदै सकियो । तर, राजावादीहरूले सभा सुरु नगर्दै अराजकता देखाए । यस क्रममा प्रहरीको राइफल खोस्ने, मिडिया हाउसदेखि व्यक्तिका घर तोडफोड र आगजनीदेखि अन्य पार्टीका कार्यालयमा समेत आगजनी गरे ।
हामीले राजावादी आन्दोलन परिचालन समितिका संयोजक सुवेदीसँग राजावादी क्रियाकलापबाट भएका क्षतिको जिम्मा कसले लिन्छ भनी प्रश्न गरेका छौँ । प्रस्तुत छ, सुवेदीसँग बाह्रखरीका रमेश वाग्लेले गरेको संक्षिप्त कुराकानी ।
आजको आन्दोलनलाई तपाईं आफैँले कसरी मूल्यांकन गर्नुभयो ?
हामी त शान्तिपूर्ण आन्दोलन गर्ने भनेर निस्किएका हौँ । म कार्यक्रमस्थल पुगेर गाडीबाट ओर्लिएपछि घरको छतबाट मलाई टियरग्यास हानियो, त्यसपछि मञ्चमा गयौँ । त्यहाँ यति धेरै टियरग्यास हानियो कि, हामी शान्तिपूर्ण ढंगले आन्दोलनमा गएकाहरूमाथि अनावश्यक आक्रमण भयो ।
हामी सबैलाई बिनाकारण आक्रमण गरेपछि ‘मास’ त्यही त हो नि, रिसायो । चार–पाँच जनालाई त गोली लागेको छ । घाइते भए रे, यस्तै छ ।
तर, तपाईं नेतृत्वका आन्दोलनकारीले व्यक्तिको घरमा तोडफोड र आगजनी गर्ने, पार्टी कार्यालय गएर आगो लगाउने काम गरे । यो क्षतिको जिम्मेवारी कसले लिने ?
उसको जिम्मा त सरकारले लिनुपर्छ । हामी शान्तिपूर्ण आन्दोलनका लागि गएकाहरूलाई उत्तेजित बनाउने, टियरग्यास हान्ने, बन्दुक पड्काउने, गोली हान्ने, मान्छे ढलेपछि अनि मान्छे एग्रेसिभ (आक्रामक) हुँदैन ? त्यसकारण गभर्मेन्ट (सरकार) ले नै लिनुपर्छ, यो सम्पूर्ण क्षतिको जिम्मा ।
त्यसरी तोडफोड, आगजनी र लुटपाटमा तपाईंकै कार्यकर्ता संलग्न भएको पुष्टि भयो भने ?
कुटिने पनि हाम्रा, गोली लाग्ने पनि हाम्रा ! त्यसको चाहिँ लेखाजोखा हुँदैन ? त्यसकारण ‘एक्सन’ गरेपछि ‘रियाक्सन’ त हुन्छ नि ! किन पुलिसले एक्सन गर्नुपरेको ? शान्तिपूर्णरूपमा हामीले आफ्ना कुरा राख्थ्यौँ नि । किन उत्तेजित बनाएको ?
प्रहरीको जिम्मेवारी नै आन्दोलन, अराजकता रोक्ने हो, त्यो राजाको शासन हुँदा लोकतन्त्रवादीको आन्दोलनलाई होस् वा लोकतान्त्रिक गणतन्त्रमा राजावादी आन्दोलनलाई । आन्दोलनकारीले विरोध गर्ने हो कि आक्रमण ?
रोक्नु उसको कर्तव्य होला ! तर, 'लङ रेन्ज' टियरग्यास हान्नु, हामीलाई मञ्चमै बस्न नमिल्ने गरी टियर ग्यास हान्नु, यो त पुलिसको कर्तव्य होइन । हामीले केही गर्दै नगरी पहिल्यै आक्रमण गरिदिने ?
तपाईं राजा ल्याउने आन्दोलनमा हुनुहुन्छ । यसलाई राजा हटाउने ०६२/६३ को जनआन्दोलनसँग तुलना गरौँ ? प्रहरीले गोली चलाएकै थियो, टियरसेल कति हान्यो त हिसाब भएन, १९ जनाले त ज्यान गुमाएका थिए । तर, व्यक्तिको सम्पत्तिमाथि आक्रमण त भएको थिएन हैन ?
व्यक्तिगत सम्पत्तिमा आक्रमण भएको छैन । आज जुन घरमा आगजनी भयो, त्यहाँ बसेर पुलिसले गोली पड्काएको थियो । त्यो घरमा आगो लाग्यो, त्यही न हो ।