काठमाडौंमा चैत महिना लाग्नेबित्तिकै कुनै न कुनै प्रकारको आन्दोलन हुने गर्छ । यो मौसममा के रहस्य छ कुन्नि आन्दोलनकारीहरू चैत लागेपछि बढी नै ‘सक्रिय’ हुन्छन् । यस वर्षको चैतमा पनि काठमाडौं उपत्यका ‘प्रतिगमनकारी’ र ‘प्रतिकारवादी’हरूको विरोध प्रदर्शनबाट अस्तव्यस्त हुने लक्षण देखिएको छ ।
एकातिर ‘राजसंस्था पुनःस्थापना’ का लागि भन्दै पूर्व राजा ज्ञानेन्द्र शाहका समर्थकहरूले चैत १५ गते (शुकवार) काठमाडौंमा प्रदर्शन गर्ने घोषणा गरेका छन् । अर्कातिर, प्रतिगमनकारीहरू सलबलाएको भन्दै सोही दिन गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने कार्यक्रम समाजवादी मोर्चाले सार्वजनिक गरेको छ ।
नेपालको संविधान, २०७२ ले संविधानकै पनि विरोध गर्न पाउने हक नेपाली नागरिकलाई दिएको छ । यसैले त ‘राजतन्त्र फर्काउने’ अर्थात् गणतन्त्रात्मक पद्धतिको संविधान नै समाप्त पार्ने घोषणा गर्नेहरूले पनि राज्यका सबै तहका निर्वाचनमा भाग लिन पाएका हुन् ।
त्यतिमात्र होइन संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध नै पनि संगठन, प्रचारप्रसार गर्ने र जुलुस निकाल्ने हक नेपाली नागरिकलाई संविधानले नै प्रत्याभूत गरेको छ । यसैले राजावादी वा अरू कसैले विरोध प्रदर्शन गर्नु आश्चर्यको विषय भएन ।
तर, राजनीतिक आवरणमा जति उपद्रो मच्चाए पनि उन्मुक्ति पाइने गरेकाले प्रदर्शनकारीहरू प्रायः अराजक र उच्छृङ्खल हुनेगरेका छन् । विडम्बना, राज्य र सरकारलाई नै चुनौती दिने प्रदर्शनका आयोजकहरूले भने आफ्ना कार्यकर्ताको उच्छृङ्खल क्रियाकलापको जिम्मेवारीसम्म लिने नैतिकता देखाउँदैनन् ।
चैत १५ गतेको प्रदर्शनका आयोजकमध्ये कतिपय पात्र र तिनको प्रवृत्ति हेर्दा भिड उच्छृङ्खल हुनसक्ने जोखिम देखिन्छ । सहरभित्र हुने प्रदर्शनमा सामान्य झडपमात्रै हुँदा पनि त्यसको प्रतिक्रिया निकै तीव्र र उग्र हुनसक्छ । यसप्रति सरकार र प्रदर्शनका आयोजकहरू सजग हुनुपर्छ ।
सानो जात्रामात्र लाग्दा त यातायात व्यवस्था अस्तव्यस्त हुने काठमाडौं सहरमा दुई दुई ठाउँमा जुलुस निकाल्दा जनसाधारणले सास्ती पाउनु पनि आश्चर्य होइन । तर, सरकार र प्रदर्शनका आयोजकहरूले सुझबुझ एवं संयम अपनाएर सार्वजनिक यातायातसम्म विनाअवरोध सञ्चालन हुनदिए हुन्थ्यो ।
आफूले आयोजना गरेको विरोध प्रदर्शन अराजक र हिंसात्मक हुन नदिनु आयोजकहरूको मूल जिम्मेवारी हो । प्रदर्शनका क्रममा भिडले गरेको क्षति र विध्वंशको जिम्मेवारी नैतिकरूपमा पनि आयोजकहरूले नै लिनुपर्छ । काठमाडौं महानगरपालिकाले तोकेको जरिवाना तिरेर राष्ट्रिय प्रजातन्त्र पार्टीले यसको थालनी पनि गरेको छ ।
उपद्रो मच्चिन नदिन सबैभन्दा बढी संयमित र सजग भने पक्कै पनि राज्यका सुरक्षा निकाय नै हुनुपर्छ । प्रहरीले अपनाउँदै आएको तमासा हेरेर बस्ने वा अनुचित बल प्रयोग गर्ने शैलीले अराजकता रोक्न सकिँदैन । सुरक्षाकर्मीहरू सावधान र संयमित हुनु आवश्यक छ ।
आशा गरौँ, कुनै अप्रिय घटना नभईकनै ‘प्रतिगमनकारी’ र ‘प्रतिकारवादी’हरूको प्रदर्शन समाप्त हुनेछ । प्रदर्शनकारीलाई अलगअलग स्थान तोकिए पनि जुलुसमा सामेल हुने क्रममा आमनेसामने हुनसक्छ । यसैले पनि सुरक्षाकर्मी बढी चनाखो हुनुपर्ने देखिन्छ ।