site stats
बाह्रखरी :: Baahrakhari
देश
सहकारी ठगीमा देवकुमार : सूर्यदर्शनमा धरौटी, इमेजमा कारागार चलान
फाइल तस्बिर ।

पोखरा । इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन प्रकरणमा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई कास्की कारागारले पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । नेपाली हाल बागलुङ कारागारमा छन् । 

नेपाली सूर्यदर्शन सहकारीमा पनि जोडिएका छन् । तर, उनी कारागार चलान भने सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा होइन ।

सोमबार जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्वासेको इजलासले उनलाई पोखराकै इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन प्रकरणमा थुनामा पठाउने आदेश गरेको हो । नेपाली संस्थापक रहेको यो सहकारी बागलुङमा मात्र नभई पोखराको सिर्जनाचोकमा नौतले घरमा पनि सञ्चालित थियो ।

Argakhachi Cement Island Ad

पोखरामा सञ्चालित इमेजकै शाखा सहकारीको बचत अपचलन प्रकरणमा उनलाई अदालतले कारागार चलान गर्ने आदेश दिएको हो ।

नेपालीलाई सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा जिल्ला अदालत कास्कीले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

गत बिहीबार न्यायाधीश कृष्णजंग शाहको इजलासले नेपालीलाई २० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो । तर, उनले धरौटी बुझाएका छैनन् ।

पोखरामा प्रधान कार्यालय रहेको सूर्यदर्शनमा भने उनी इमेज खोल्नुअघि जोडिएका थिए । २०८० असोज १८ मा सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जीबी राई समेत १९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएकामा गत वर्षको ५ र ७ पुसमा रास्वपा सभापति रवि लामिछाने समेत ४४ जनालाई प्रतिवादी बनाएर पूरक अभियोग लगिएको थियो ।

नेपाली समेत प्रतिवादी रहेको मुद्दामा प्रतिवादीहरूविरुद्ध एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ तीन पैसा बिगो माग दाबी गरिएको थियो ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष रहेका नेपालीले उक्त सहकारीका तत्कालीन अध्यक्ष जीबी राईसँग विवाद भएपछि छाडेर इमेज सहकारी खोलेका थिए । ढोरपाटन नगरपालिकाका मेयर भएपछि पनि नेपाली दुवै ठाउँमा खुलेको इमेज सहकारीका अध्यक्ष थिए ।

सूर्यदर्शन सहकारीमा उनले २०६७ पुस ६ मा सदस्य पदमा रही २०६८ मंसिर १७ देखि फागुन २ सम्म सहकारीको सञ्चालक समितिको सदस्य तथा उपाध्यक्ष पदमा रही काम गरेका थिए । 

“नेपाली उपाध्यक्ष रहेको कार्यकालमा १८ करोड १२ लाख बचत अपचलन भएकोमा सोमध्ये एक करोड ४५ लाख गितेन्द्रबाबु राईले अपचलन गरेको भनी २०६८ माघ १६ गतेको बैठकको निर्णयबाट देखिन आएबाट निजको कार्यकालमा १६ करोड ६७ लाख अपचलन भएकोमा निज समेतले दायित्व लिनुपर्नेमा निजको कार्य अवधिको मितिको आधारमा गणना गर्दा दुई करोड ९५ लाख तिर्नुपर्ने सामूहिक रूपमा जिम्मेवार रहेको देखिन्छ,” जिल्ला सरकारी वकिल कार्यालयको गत पुसको अभियोगपत्रमा भनिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले इमेज सहकारी पोखराबाट नेपालीले ५७ करोड ३५ लाख ८४ हजार रुपैयाँ हिनामिना गरेको आरोप लगाएको छ । इमेज ठगी अभियोगमा नेपालीसहित १५ जनाविरुद्ध सरकारी वकिलको कार्यालयले अभियोग पत्र दर्ता गरेको थियो ।

बागलुङको इमेज सहकारीको अपचलन प्रकरणमा सहकारी संस्थाका एक हजार ५४३ बचतकर्ताको जाहेरीमा जिल्ला अदालत बागलुङमा २०८० असार २५ गते उनीविरुद्ध ठगी मुद्दा दर्ता भएको थियो । सरकारी वकिलको कार्यालयले संस्थाका अध्यक्ष नेपालीसहित ११ जनाविरुद्ध एक अर्ब ५४ करोड रुपैयाँ र आठदेखि १० वर्ष कैद सजाय माग गर्दै ठगी मुद्दा दायर गरेको थियो ।

सहकारीमा बचत राखेका सर्वसाधारणले आफ्नो बचत फिर्ता माग्न थालेपछि नेपाली १६ महिना फरार भएका थिए । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २०८१ असोज ११ गते भारतको दिल्लीबाट पक्राउ गरी नेपाल ल्याएको थियो ।

दिल्लीबाट ल्याएर बागलुङ पठाइएका नेपाली जिल्ला अदालत बागलुङको आदेशले कारागारमा थिए ।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १९:१६
प्रतिक्रिया दिनुहोस्