
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सिफलचौर, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारीतर्फ र बल्खु क्षेत्रबाहेकमा विरोधका कार्यक्रम गर्न निषेध गरेको विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को गम्भीरर आपत्ति रहेको जनाएको छ । आइतबार राति विज्ञप्ति जारी गर्दै जेठ १९ गतेदेखि लागु हुने गरी दुई महिनाको लागि ती क्षेत्रमा मात्र प्रदर्शन गर्न पाउने गरी चक्रपथभित्र र वरपरका सम्पूर्ण क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको विषयमा गम्भीर आपत्ति रहेको जनाएको हो ।
"लोकतान्त्रिक सरकारको दुहाई दिने दुईतिहाइको सरकारले इतिहासमा नै नयाँ कीर्तिमान राख्ने गरी काठमाडौं महानगर क्षेत्रलाई नै निषेधित क्षेत्र तोक्ने हास्यास्पद निर्णय गरेको छ । सरकारको यस निर्णय घोर अलोकतान्त्रिक, सर्वसत्तावादी, गैरसंवैधानिक र पराजित मानसिकताको उपज रहेको राप्रपाको ठहर छ," राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
सरकारको यस निर्णयबाट शान्तिपूर्वक बिना हातहतियार भेला हुन पाउने, आफ्नो विचार राख्न पाउने र राजनैतिक दलले निर्वाध रूपमा राजनीतिक गतिविधि गर्न पाउने संविधान प्रदत्त अधिकारको गम्भीर उल्लंघन गरेको राप्रपाले जनाएको छ ।
"हामी सरकारको यस कदमको घोर विरोध गर्दछौँ, सरकारको यस निर्णय नेपालीजनलाई किमार्थ स्वीकार्य छैन । सरकारको उक्त आदेश तत्काल फिर्ता लिन आग्रह गर्दछौँ," जारी विज्ञप्तिमा उल्लेख छ ।