site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मुख्यसचिवले मागे सचिव सरुवाको अधिकार
फाइल तस्बिर ।

काठमाडौं । सरकारका मुख्यसचिव एकनारायण अर्यालले सचिव सरुवा अधिकार आफूले पाउनुपर्ने प्रस्ताव राखेका छन् ।

निजामती विधेयकका विवादित विषय टुंग्याउन गठित उपसमितिमा उनले सचिव सरुवा गर्ने जिम्मा र कारबाहीसम्मको अधिकार मुख्यसचिवलाई दिन माग राखेका हुन् । राज्यव्यवस्था तथा सुशासन समितिले नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा उपसमिति बनाएको थियो ।

अर्यालले प्रधानमन्त्री, मन्त्रीले सचिव खोजेर हिँड्न नहुने बताएका छन् । उनले कर्मचारी खटाउने अधिकार मुख्यसचिवले नै पाउनुपर्ने व्यवस्था गरिदिन आग्रह गरेका हुन् ।

सचिव सरुवाको निर्णय मन्त्रिपरिषद्ले गर्ने गर्छ ।

“सचिव खटाउने अधिकार मुख्यसचिवलाई दिनुस् न, किन मन्त्रिपरिषद्ले गर्नुपर्यो ?,” उनको प्रस्ताव छ, “बेठीक गरेँ भने कारबाही गर्नुस्, मैले (मुख्यसचिव)ले खटाएको सचिवले काम गरेन भने म कारबाही गर्छु नि !”

“उहाँको प्रस्ताव थियो, हामीले छलफल गरेनौं,” समितिका एक सदस्यले भने । ती सदस्यका अनुसार, मन्त्री नियुक्ति हुने बित्तिकै प्रधानमन्त्रीलाई यो व्यक्ति सचिव चाहियो भन्ने माग राख्ने गर्छन् । त्यसैले कर्मचारीको चेन अफ कमाण्ड गर्ने अधिकार उनले मागेका हुन् । 

विज्ञहरू भने मुख्यसचिवलाई सचिव सरुवा र कारबाहीको अधिकार दिन नहुने बताउँछन् । कानुन आयोगका पूर्व अध्यक्ष माधव पौडेलले सचिव खटाउने अधिकार मुख्यसचिवलाई दिन उचित नहुने बताए ।

“सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ बनाउँदा उपचिवसम्मको सरुवा, बढुवा सचिवलाई दिने भनेका थियौं । कानुनतः सचिवले गरे पनि व्यवहारतः मन्त्रीले प्रयोग गरिरहेका छन्,” उनी भन्छन्, “यो पनि भोलि गएर त्यस्तै हुन्छ । मन्त्रिपरिषद्लाई नै यो अधिकार दिनुपर्छ ।”

त्यस्तै पूर्वसचिव गोपीनाथ मैनाली पनि सचिव सरुवा मन्त्रिपरिषद्ले नै गर्नुपर्ने बताउँछन् । “मुख्यसचिव क्याबिनेटको सचिव हो । उहाँले प्रस्ताव गर्ने बेलामा प्रधानमन्त्रीलाई सल्लाह दिन सक्नुहुन्छ । सचिव सरुवा गर्ने अधिकार उहाँलाई दिने प्रस्तावमा सहमत हुन सकिँदैन,” उनी भन्छन् ।

उनले योग्यता प्रणालीलाई छलेर आएका व्यक्ति मुख्यसचिव बन्ने हुँदा राजनीति दलले पनि उनको प्रस्ताव नमान्ने बताए ।  

“योग्यता प्रणाली छलेर आएको र राजनीतिक दलभित्रको प्रभाव बढी भएको व्यक्तिले सचिव सरुवा गर्दा आग्रह राख्न सक्छ,” उनी भन्छन् , “राम्रो मान्छे हुँदा त ठिकै पनि होला ।”

निजामती विधेयकमा सांसदहरू सह–सचिवको संख्या घटाउने, अतिरिक्त सचिव पद सिर्जना गर्न सहमत भएका छन् । मुख्यसचिवको कार्यकाल घटाएर दुई वर्ष राख्ने र सचिवको कार्यकल ३ वर्ष बनाउने विषयमा छलफल जारी छ ।

कुलिङ पिरियड राख्न खोजेपछि सचिवहरूको आपत्ति 

निजामती विधेयकमा निजामती कर्मचारीमा संवैधानिक नियुक्तिका लागि ‘कुलिङ पिरियड’ राख्नुपर्ने पक्षमा सांसदहरू छन् । सांसदहरू कम्तीमा दुई वर्ष कुलिङ पिरियड हुनुपर्ने पक्षमा देखिएका हुन् ।

तर, सचिवहरूले भने आफूहरूलाई रोक्न ‘कुलिङ पिरियड’ राखिन लागिएको भन्दै आपत्ति प्रकट गरेका छन् । उपसमितिको बैठकमा मुख्यसचिवले त्यस विषयमा खासै आपत्ति जनाएनन् । 

सचिवहरूले भने आपत्ति जनाएको एक सांसदले बताए । “मुख्यसचिवको खासै सुनिएन । तर, कर्मचारी र सचिवहरू भने कुलिङ पिरियड राख्न हुँदैन भन्नेमा हुनुहुन्छ । सेना–प्रहरीका पूर्व अफिसर, न्यायाधीश बन्न पनि त्यस्तो अवधि लाग्दैन । तर, यो हामीलाई मात्रै लाग्छ । हामीलाई मात्रै टार्गेट गरेर राख्ने ?,” सचिवहरूको प्रश्न छ ।

कुलिङ पिरियड राख्ने नै भए छोटो अवधि राख्न सुझाव दिएका छन् ।
 

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro