
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको शैक्षिक प्रणालीलाई युवामैत्री बनाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक रहेको बताएकी छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा केवल प्रमाणपत्र हासिल गर्ने माध्यममा सीमित हुन नहुने उल्लेख गरिन् ।
उनले राष्ट्रको समृद्धि र प्रगति शिक्षाको स्तरसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै शिक्षा क्षेत्रमा व्यापक सुधारको आवश्यकता रहेको औँल्याइन् । सूचना प्रविधि र यातायातको तीव्र विकासले आजको विश्वलाई सानो गाउँजस्तो बनाइदिएको उल्लेख गर्दै वैश्वीकरणका अवसरहरूको सदुपयोग तथा चुनौतीहरूको सामना गर्न सक्षम जनशक्ति उत्पादन गर्न गुणस्तरीय शिक्षाको आवश्यकता रहेको बताइन् ।
विद्यालय तथा शैक्षिक संस्थाहरूमा पठनपाठनमा कुनै पनि बहानामा अवरोध नआउने गरी शिक्षामा लगानी बढाउनुपर्नेमा उनको जोड छ ।