
काठमाडौं । वाग्मती प्रदेशसभाको मंगलबार बसेको बैठकले दुई विधेयक सर्वसम्मतिबाट पारित गरिएको छ । सो बैठकबाट पारित गरेको विधेयकमा क्रमशः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०८२ र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ रहेका छन् ।
प्रदेशसभाका प्रमुख भुवनकुमार पाठकले उक्त विधेयक सो बैठकमा निर्णयार्थको लागि प्रस्तुत गरेका थिए । सो बैठकमा स्वास्थ्यमन्त्री किरण थापा मगरले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई पारित गरियोस् भने प्रस्ताव पेस गरेका थिए ।
प्रदेश कृषि तथा पशुपंक्षी विकासमन्त्री प्रकाश श्रेष्ठले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई पारित गरियोस् भने प्रस्ताव प्रस्तुत गरे ।
सो बैठकमा प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ माथि विचार गरियोस् भने प्रस्ताव प्रस्तुत गरेका थिए ।
त्यसैगरी उनले प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलको लागि प्रदेश मामिला समितिमा पठाइयोस् भने प्रस्ताव पेस गरेका थिए ।