site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘दाँत तथा मुख स्वस्थ राख्न १० मिनेट छुट्ट्याऊँ’

काठमाडौं । ‘स्वस्थ मुख : सकारात्मक सोच’ भन्ने नाराका साथ आज ( मार्च २०) विश्वभर मुख स्वास्थ्य दिवस, २०२५ मनाइँदै छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मुख स्वास्थ्यलाई मुख एवं अनुहारको दुखाइ, मुख तथा घाँटीको क्यान्सर, मुखको संक्रमण, जन्मदै तालु तथा ओठ चिरेको (खुँडे), गिँजासम्बन्धी रोग, दाँत किराले खाने तथा झर्ने, दाँतमा प्वाल पर्ने तथा अरू मुखसम्बन्धी रोगबाट मुक्त हुने अवस्थाका रूपमा व्याख्या गरेको छ ।

नेपालमा दाँत किराले खाने, गिँजाबाट रगत आउने, गिँजा फुल्ने र पाक्ने, दाँत हल्लिने समस्या अधिकांशमा देखिन्छ । चिनीको खपत, सुर्ती, रक्सीको प्रयोग र सरसफाइको कमी मुखसम्बन्धी स्वास्थ्य समस्याका मुख्य कारक रहेको डब्ल्यूएचओको भनाइ छ ।

दन्त विशेषज्ञ समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी दाँत तथा मुख स्वस्थ रहे ९० देखि ९५ प्रतिशत समस्या रोकथाम गर्न सकिने बताउँछन् । उनका अनुसार, दाँत तथा मुख सफा राख्न सकिए दाँत किराले खाने समस्या, गिँजाको समस्या, मुखमा आउने घाउखटिरा, मुखको क्यान्सर, दाँत खिएर जाने समस्या हुनबाट जोगिन्छ ।

डा. बुढाथोकी भन्छन्, “दाँत तथा मुख शरीरको प्रवेशद्वार हो । मुख स्वस्थ भएन भने त्यसबाट खाइएका चिजहरू शरीरमा फोहोरकै रूपमा जाने हुन्छन् । मुख शरीरको ऐना पनि हो । मुखमा देखिने समस्या तथा घाउखटिरा दाँत तथा मुखसम्बन्धी कारणहरू हुन सक्छन् वा शरीरमा भएका कुनै रोगहरूको प्रतिविम्बको रूपमा देखिने गर्दछ ।”

विज्ञका अनुसार, दाँत तथा मुखको समस्या समयमै निदान गर्न सकिए उपचारमा कम लागत र जटिलता पनि धेरै निम्तिँदैन । डा. बुढोथोकीले दाँत तथा मुखको समस्या हुँदा मधुमेह, श्वासप्रश्वासका समस्या, मष्तिस्कमा असर तथा गर्भवतीको पेटमा हुर्किरहेको बच्चाको वृद्धिविकासमा पनि समस्या देखिन सक्ने बताउँछन् ।

मुख स्वस्थ राख्न प्रत्येक दिन कम से कम दुईपटक फ्लोराइडयुक्त मन्जनले दाँत माझ्ने र एकपल्ट डेन्टल फ्लसले सफा गर्ने, गुलियो खानेकुरा कम खाने, खाना खाइसकेपछि र गुलियो खानेकुरा खाएपछि सफा पानीले मुख कुल्ला गर्ने, सुर्तीजन्य पदार्थ तथा मदिरा सेवन नगर्ने, मौसमानुसारको फलफूल तथा सागसब्जी खाने, मुखमा कुनै समस्या देखिएमा आफैँ जथाभावी औषधि सेवन नगर्ने र मुख स्वास्थ्यलाई राम्रो बनाउन ६–६ महिनामा दाँत परीक्षण गराउनुपर्ने विज्ञको सुझाव छ ।

“बिहान खाना खाइसकेपछि पाँच मिनेट र राति सुत्नुअघि पाँच मिनेट दाँतलाई मजाले सफा गरियो भने दाँत तथा मुखका धेरै समस्याबाट बच्न सकिन्छ । यसलाई नियमित जीवनशैलीको रूपमै अपनाउनुपर्छ,” डा. बुढाथोकीले भने । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  ०९:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro