
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच करिब एक घण्टा फोन वार्ता भएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग लामो फोन वार्ता गरे ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा गरेको पोस्टमा वार्ताको उद्देश्य युक्रेन र रुसलाई ‘उनीहरूको अनुरोध र आवश्यकता अनुसार’ एकसाथ ल्याउनु रहेको बताएका छन् । उनले युद्धविराम प्रयासहरू सही दिशामा अघि बढिरहेको प्रष्ट पारेका छन् ।
जेलेन्स्कीले ट्रम्पसँगको आफ्नो कुराकानीलाई ‘सकारात्मक’, ‘खुला’ र ‘धेरै गहिरो’ भनेर वर्णन गरेका छन् ।
“हामी विश्वास गर्छौं कि यस वर्ष संयुक्त राज्य अमेरिका र राष्ट्रपति ट्रम्पसँग दिगो शान्ति प्राप्त गर्न सकिन्छ,’ जेलेन्स्कीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन् ।
बुधबार एक अनलाइन ब्रिफिङमा बोल्दै, जेलेन्स्कीले आफू र ट्रम्पले रूसी कब्जामा रहेको जापोरिज्जिया पावर प्लान्टको सम्भावित अमेरिकी स्वामित्वको बारेमा छलफल गरेको बताएका छन् ।
जेलेन्स्कीले रूसले युद्धविरामका सर्तहरू उल्लंघन गरेमा युक्रेनले बदला लिने चेतावनी दिएका छन् ।
“मलाई लाग्छ जबसम्म हामी रूससँग सहमत हुँदैनौँ, आंशिक युद्धविरामको दस्तावेज पनि हुँदैन, मलाई लाग्छ सबै कुरा जारी रहनेछ,” उनले ड्रोन र मिसाइलहरूको प्रयोग र युद्धबारे भने । बीबीसी