
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच छलफल हुने भएको छ । ट्रम्प आफैँले युक्रेन युद्धबारे पुटिनसँग मंगलबार छलफल हुने जानकारी दिएका हुन् । “हामी युक्रेनी भूमि, विद्युत् गृहबारे कुरा गर्नेछौँ,” ट्रम्पले पत्रकारसँग भनेका छन् ।
“मलाई लाग्छ, युक्रेन र रुस दुवै पक्षबीच यस विषयमा धेरै छलफल भइसकेको छ । हामी पहिलोपटक यसबारे कुरा गर्दै छौँ र केही जमिनमाथिको दाबीबारे टुंगो लगाउने विषयमा पनि छलफल गर्दै छौँ," ट्रम्पले अगाडि भनेका छन् ।
वासिङ्टन र किभका युरोपेली सहयोगीहरूले मस्कोलाई युद्ध रोक्न दबाब दिइरहेका छन् । तर, पुटिनले यसबारे कुनै स्पष्ट जवाफ दिएका छैनन् । बरु उनले युद्धविरामका सर्तहरू अघि सारेर अमेरिकी प्रस्तावमाथि ‘गम्भीर प्रश्न’ उठाएका छन् ।
केही दिनअघि पुटिनसँग केही घण्टा भेटवार्ता गरेका ट्रम्पका दूत स्टिभ विटकोफले दुई राष्ट्रपतिबीच निकै सकारात्मक छलफल हुने बताएका थिए ।
“सायद, ट्रम्पले वास्तवमै आगामी हप्ताहरूमा कुनै न कुनै प्रकारको सम्झौता हुने अपेक्षा गर्नुभएको छ र यो आवश्यक मुद्दा हो भन्ने मेरो पनि विश्वास हो,” उनले सीएनएनसँग भनेका थिए ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्रेमलिनले युद्ध अन्त्य गर्न नचाहेको आरोप लगाइरहेका बेला ट्रम्प र पुटिनबीच वार्ता हुन लागेको हो । रासस/एएफपी