site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ट्रम्पले कार्यभार सम्हालेयताका ५६ दिनमा अमेरिकाबाट भए ४३ नेपाली ‘डिपोर्ट’

काठमाडौं । पछिल्लो ५६ दिनमा अमेरिकाले ४३ नेपालीलाई ‘डिपोर्ट’ गरेको छ । डोनाल्ड ट्रम्पले दोस्रोपल्ट राष्ट्रपतिको कार्यभार सम्हालेपछिका ५६ दिनमा ती नेपाली डिपोर्ट भएका हुन् ।

ट्रम्पले सन् २०२५ जनवरी २० का दिन अमेरिकी राष्ट्रपति पदको शपथ लिएका थिए । “ट्रम्प राष्ट्रपति भएयता हालसम्म ४३ जना नेपाली अमेरिकाबाट डिपोर्ट भई आउनुभएको छ,” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयकी सूचना अधिकारी सीता परियारले बाह्रखरीसँग भनिन् ।

पछिल्लोपटक गएको शनिबार (चैत २) अमेरिकाबाट एकजना डिपोर्ट भई आएको उनले जानकारी दिइन् ।

राष्ट्रपतिको शपथ लिएलगत्तै ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गर्दै आप्रवासी नीतिमा कडाइ गरेका थिए । अमेरिकामा अवैध प्रवेश गरेका र रहेकालाई डिपोर्ट गर्ने घोषणा ट्रम्पले आफ्नो चुनावी अभियानकै क्रममा गरेका थिए ।

उनले राष्ट्रपतिको शपथ लिएपछि ट्रम्प प्रशासनले निष्कासन गरिने एक हजार ३६५ नेपालीसहित १४ लाख ४५ हजार ५४९ आप्रवासीको सूची सार्वजनिक गरेको थियो । उनीहरू सबैमाथि अवैध तरिकाले अमेरिकामा बसोबास गरेको आरोप लगाइएको थियो । सोहीअनुसार अमेरिकामा अवैध रूपमा रहेका नेपालीसहितका विदेशीलाई डिपोर्ट गरिँदै छ ।

गएको फागुन २१ गते अमेरिकाले नौ नेपालीलाई डिपोर्ट गरी काठमाडौं पठाएको थियो । अवैध तरिका र बाटोबाट अमेरिका प्रवेश गरेको, गलत मनसाय र बिनाभिसा बसेको जस्ता आरोप डिपोर्ट भएकामाथि लगाइएको छ ।

डिपोर्ट गरिएकालाई नेपाली विमानस्थलमा प्रहरीलाई बुझाउने गरिएको छ । खासगरी मानव तस्करको प्रलोभनमा परी अवैध बाटो अमेरिका गएका कारण उनीहरूलाई प्रहरीले आवश्यक सोधपुछ गर्ने गर्छ ।

सन् २०२४ मा विभिन्न देशले एक हजार २२८ नेपालीलाई डिपोर्ट गरेका थिए । उक्त वर्ष अमेरिकाले ३५ नेपालीलाई डिपोर्ट गरेको थियो ।

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १३:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro