
काठमाडौं । बलिउड स्क्रिप्ट राइटर भवानी अयरले नेपालमा स्क्रिप्ट राइटिङ (पटकथा) लेखनको कार्यशाला सुरु गरेकी छन् ।
भवानीले ‘गो टु टेल इट अन माउन्टेन’ शीर्षकमा नेपाली सिनेमा लेखकका लागि फिचर सिनेमाको पटकथा लेखन कार्यशाला आजदेखि सुरु गरेको शिक्षा फाउन्डेसन नेपालले जनाएको छ ।
शिक्षा फाउन्डेसन नेपालको आयोजनामा चैत ४ (आज) देखि सुरु भएको कार्यशाला ७ गतेसम्म चल्नेछ ।
कार्यशालामा १६ जना नेपाली चलचित्रका स्क्रिप्ट राइटर सहभागी छन् । विभिन्न विधाका रोचक र व्यक्तिगत कथाहरू भएका विविध पृष्ठभूमिका १६ पटकथा लेखकहरू कार्यशालामा छनोट गरिएकाे बताइएको छ ।
कार्यशालाले नेपाली पटकथा लेखकहरूलाई आफ्नो कलालाई निखार्न, आफ्नो पटकथामा भवानीबाट महत्वपूर्ण प्रतिक्रिया लिन अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
कार्यशालाले पटकथा लेखनका विभिन्न पक्षहरूलाई समेट्नेछ, जसमा कथाको मूल मर्म पत्ता लगाउन, लेखकको क्षमता पहिचान गर्न, चरित्र निर्माण गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।
लेखकहरूले आफ्नो फिचर फिल्मको स्क्रिप्टमा प्रतिक्रिया लिने अवसर प्राप्त गर्नेछन् ।
कार्याशालाको अन्तिम दिन उनीहरूले आफ्ना पटकथाहरू नेपाली चलचित्र निर्माताहरूलाई पिच गर्नसक्ने बताइएको छ ।
कार्याशालामा सहभागिताका लागि कम्तिमा एउटा फिचर फिल्मको पटकथा लेखेका नेपाली लेखकहरूलाई खुला आह्वान गरिएको थियो ।
भवानी स्क्रिनप्लेराइटिङमा थुप्रै अवार्ड विजेता स्क्रिनप्ले राइटर हुन् । उनले ल्यान्डमार्क सिनेमा ‘ब्ल्याक’, ‘गुजारिस’, ‘लुटेरा’, ‘राजी’, ‘साम बहादुर’ र वेब सिरिज ‘काफिर’, ‘ब्रेथः इनटु द स्याडो’, ‘द एम्पायर’जस्ता ऐतिहासिक सिनेमाको पटकथा लेखक हुन् ।
भवानीले विभिन्न पटकथा लेखन प्रयोगशालाहरूमा मेन्टरको काम गर्दै आएकी छन् । भारतसँगै विदेशका विभिन्न संस्थानहरूमा अध्यापन पनि गराउँदै आएकी छन् ।