
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनः २००६ सालको जस्तै एकीकृत गर्ने अभियानमा लागेको बताएका छन् । शनिबार ललितपुरमा समाजावदी मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् ।
हाल आफूहरू नेपालको समग्र कम्युनिस्ट आन्दोलनलाई २००६ सालको जस्तै एकीकृत बनाउने कोसिसमा रहेको उनले उल्लेख गरे । उनले माओवादी मात्रै नभई समाजवादीलाई पनि एक ठाउँमा राखेर अघि बढ्ने गरी छलफल भइरहेको सुनाए ।
“हामी नेपालको होल कम्युनिस्ट मुभमेन्टलाई २००६ सालमै फर्काउन सकिन्छ कि सकिँदैन त भन्नेमा पनि सोचिरहेका छौँ,” उनले भने, “माओइस्टलाई एक ठाउँमा ल्याउने कुरा मात्रै होइन, समाजवादीलाई, सिंगो नेपालको कम्युनिस्ट मुभमेन्टलाई नयाँ अवधारणामा रूपान्तरणसहित २००६ सालजस्तै लैजाने बारेमा पनि छलफल भइरहेको छ ।” न्युज एजेन्सी नेपाल