site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बंगलादेशी सेनामा सैन्य विद्रोह हुन लागेको हो ? यस्तो छ दाबी

काठमाडौं । बंगलादेशको सेनामा ‘कु’को प्रयास भएको भन्दै भारतीय सञ्चारमाध्यममा रिपोर्ट सार्वजनिक भएको छ । लेफ्टिनेन्ट जनरल फैजुर रहमानले अन्य जनरलहरूको समर्थनमा बंगलादेश सेनाका वर्तमान प्रमुख जनरल वकार–उज–जमानलाई हटाउने प्रयास गरेको रिपोर्टमा दाबी गरिएको छ ।  

तर पर्याप्त सहयोगको अभावमा सो प्रयास असफल भएको दाबी गरिएको छ। रहमान पाकिस्तान र जमात–ए–इस्लामिकका समर्थक भएको उक्त रिपोर्टमा बताइएको छ । भारतको अंग्रेजी पत्रिका इकोनोमिक टाइम्सले मंगलबार यस्तो रिपोर्ट सार्वजनिक गरेको हो । 

Argakhachi Cement Island Ad

बंगलादेशी सेनाभित्र भएको कथित द्वन्द्वसँग सम्बन्धित रिपोर्टमा इकोनोमिक टाइम्सले लेखेको छ–लेफ्टिनेन्ट जनरल रहमानलाई बंगलादेशको मिलिटरी इन्टेलिजेन्स डीजीएफआईले निगरानीमा राखेको छ । स्थिति तनावपूर्ण रहेको बंगलादेशका पर्यवेक्षकहरूले बताएका छन् । बंगलादेशले आगामी केही दिनमा ठूलो उथलपुथल देख्न सक्ने चेतावनी दिइएको छ ।

‘‘हालसालै लेफ्टिनेन्ट जनरलले बंगलादेश सेनाको मुख्यालयमा बैठक बोलाए र त्यसमा आफ्नो शक्ति नाप्ने प्रयास गरे। यस बैठकको उद्देश्य बंगलादेशमा राजनीतिक अस्थिरताको बीचमा सैन्य विद्रोह गर्ने थियो । तर यो बैठकमा वरिष्ठ अधिकारीहरूको उपस्थिति भने निकै कम थियो,’’ रिपोर्टको दाबी छ । 

बंगलादेश सेनाले भने यो रिपोर्टलाई अस्वीकार गर्दै पूर्णतया निराधार भएको बताएको छ । मंगलबार राति बंगलादेशको इन्टर सर्भिस पब्लिक रिलेसन्स डाइरेक्टरेट (आईएसपीआर)ले यस प्रतिवेदनप्रति चिन्ता व्यक्त गर्दै विरोध गरेको छ।

आईएसपीआरले आफ्नो विज्ञप्तिमा भनेको छ, “बंगलादेश सेनाले केही भारतीय मिडियामा निराधार रिपोर्टहरू देखेको छ। यो प्रतिवेदनले सेनाभित्रै सम्भावित विद्रोहको दाबी गरेको छ । यो रिपोर्ट पूर्णतया आधारहीन छ र बंगलादेशमा अस्थिरता ल्याउन जानाजानी गलत सूचना फैलाउने उद्देश्यले प्रकाशित गरिएको हो।’’ 

बंगलादेश सेना वर्तमान सेना प्रमुखको नेतृत्वमा आफ्नो संवैधानिक जिम्मेवारीप्रति दृढतापूर्वक एकताबद्ध र प्रतिबद्ध रहेको सेनाको विज्ञप्तिमा दाबी गरिएको छ । बीबीसी 

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  १८:५७
प्रतिक्रिया दिनुहोस्