
काठमाडौं । वाग्मती नदीमा बोरामा पोको पारेर शव फालिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोमबार थप एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–४ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७, माकलबारी बस्ने १९ वर्षीय पेम्बा लामा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यानको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
यसअघि प्रहरीले सर्लाहीको वाग्मती ढुंगेखोला घर भएका २५ वर्षीय कैलाश खड्का, मकवानपुरको हेटौँडा शिखरपानी घर भएका २० वर्षीय सुरेश तामाङ, नुवाकोटको मेघाङ–४ देउराली घर भएका २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोकको तिपिने घर भएकी २० वर्षीया पूजा परियार र एक नाबालकलाई पक्राउ गरेको थियो । अन्दाजी ३०/३५ वर्षकी युवतीको हत्यागरी शव बोरा र तन्नामा पोको पारेर नदीमा फालेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।