
काठमाडौं । प्रहरीले गोली हानेर नियन्त्रणमा लिएका गुड्डु पटेलविरुद्ध भारतको बिहारमा समेत दर्जनौं आपराधिक घटनामा फरार रहेको खुलेको छ ।
दुई वर्षअघि २०७९ असोजमा काठमाडौंको गोठाटारमा हत्या गरिएका सर्लाही हरिवनका लाल मोहम्मदको हत्याका मुख्य आरोपी पटेललाई आइतबार प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेर नियन्त्रणमा लिएको थियो ।
उनै पटेलविरुद्ध भारतको बिहार प्रहरीमा समेत दर्जनौं अपराधका घटनामा फरार रहेको खुलेको हो ।अनुसन्धानमा खटिएका कार्यालयका एक प्रहरी अधिकारीका अनुसार उनीबिरुद्ध बिहार प्रहरीमा दुईवटा हातहतियार खरखजना मुद्दा र ६ वटा चोरी तथा डकैती घटनामा फरार रहेको खुलेको हो ।
पटेललाई मोहम्मदको हत्याका लागि सुपारी दिएर प्रयोग गरिएको थियो । लाल मोहम्मदविरुद्ध भारतीय नक्कली नोटको कारोबार गर्ने गरेको बारे भारतीय गुप्तचर निकाय ‘रअ’ले समेत ‘रेकी’ गर्ने गरेको दाबी केही प्रहरी अधिकारीले समेत गरेका थिए ।
मोहम्मदको गोली हानी हत्या भएपछि ‘रअ’को भूमिकामाथि समेत आशंका गरिएको थियो । मोहम्मदको हत्यामा तीनजना भारतीय नागरिकको संलग्नता त्यही बेला खुलेको थियो ।
जसमा नेपालमा लामो समय बसेका भारतीय नागरिक नितेन खानसमेत जोडिएका थिए । तर, उनीहरू तीनजना नै हत्यालगत्तै भागेका थिए । उनीहरू मध्येकै पटेललाई भने कार्यालयलको टोलीले सोमबार साँझ टोखाबाट नै गोली हानेर नियन्त्रणमा लिएको हो ।
उनलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड गोली चलाएको थियो । जसमध्ये एउटा गोली उनको खुट्टामा लागेको हो ।
प्रहरीले गोली हानेर नियन्त्रणमा लिएका पटेलसँग बयान सुरु गरेको छैन । घाइते पटेल अस्पताल भर्ना गरिएका कारण उनको बयानको काम बाँकी रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतको भनाइ छ ।
पटेल बिहार डनकन रोडा रक्सौलका स्थानीयबासी हुन् । उनी भन्छन्, ‘‘पटेलमाथि सोधपुछ हुन बाँकी छ । तर, उनी केही दिन अघिमात्रै काठमाडौं आएको खुलेको छ । अर्को कामका लागि आएको बताएका छन् । त्योबाहेक अन्य कुरा खुलेको छैन ।’’
लाल मोहम्मदको हत्यामा संलग्न पहिचान खुलेका भारतीय नागरिक नितेन खान भने अझै फरार छन् । भारत नयाँदिल्लीका खान लामो समय बसन्तपुर क्षेत्रमा परिवारसहित बस्दै आएका थिए । महोम्मदको हत्यापछि भने उनी परिवारसहित फरार भएका छन् ।
यद्यपि, नितेनले मोहम्मदको हत्या योजना किन बनाए भन्नेबारे खुलेको छैन । पटेलले हत्या गरेका मोहम्मदले समेत २०६४ मा अनामनगरस्थित धोवीखोलामा बाराका बलराम पटुवालाई गोली हानी हत्या गरेको घटनामा संलग्न थिए । उक्त हत्या प्रकरणमा उनी १० वर्ष जेल सजाय भुक्तान गरेर छुटेका थिए ।
जेलबाट छुटेर गोठाटारमा ‘एभेन्जर इन्टरप्राइजेज वर्ल्ड बेस्ट गार्मेन्ट’ सञ्चालन गर्दै आएका उनी भारतीय सुटरको निसामा परेका थिए । लाल मोहम्मद हत्यामा संलग्न नितेनबाहेक अर्का एकजना भने अझै फरार छन् ।
भारतीय नक्कली नोट कारोबारसित जोडिएर हत्या गरिएका नेपालीहरूमध्ये लाल मोहम्मद हत्याका मुख्य सुटर पक्राउ पर्नुलाई प्रहरीले आफ्नो ठूलो सफलता मानेको छ ।
भारतीय नागरिक मिर्जा दिलसाद बेगको पनि काठमाडौंको सिफलमा २०५५ साल असारमा गोली हानी हत्या भएको थियो । उनको हत्याराबारे प्रहरीले अहिलेसम्म केही जानकारी पाएको छैन ।
२०६३ भदौमा काठमाडौंको सिनामंगलमा गोली हानी हत्या गरिएका बझाङका कमलसिंह नेपालीको हत्यारा अझै पत्ता लागेको छैन । रोजगारीको सिलसिलामा मलेसिया बस्दा भारतविरोधी गतिविधिमा सक्रिय रहेको भन्दै भारतीय आपराधिक समूहले गोली हानेको आशंका प्रहरीले गरेको थियो ।
२०६६ माघमा सञ्चार उद्यमी जमिम शाहको हत्याका अरोपीलाई समेत प्रहरीले पक्राउ गर्न सकेको छैन । नक्कली भारतीय नोटकै कारोबारी बाराका युुनुस अन्सारीमाथि समेत जेलभित्रै गोली हानी हत्याको प्रयास भएको थियो ।
भारतीय कुख्यात अपराधी जसजित सिंह भनिने मनमित सिंह भाटियाले २०६७ फागुनमा सुन्धारा कारागारभित्रै अन्सारीमाथि ६ राउन्ड गोली प्रहार गरेका थिए ।
त्यो घटनामा अन्सारी बाँचेका थिए । अन्सारीलाई गोली नलागे पनि भाटियाले प्रयोग गरेको जर्मन रिभल्वर सडकमै फालेर प्रहरीलाई गिरफ्तारी दिएका थिए । हाल भटिया नेपालगञ्ज कारागारमा छन् ।