त्रिपोली । आप्रवासीका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम)ले सोमबार लिबियाको तटबाट ५६३ आप्रवासीहरूलाई उद्धार गरी गत हप्ता उत्तर अफ्रिकी देशमा फिर्ता पठाइएको जनाएको छ ।
“मार्च २ देखि ८ सम्म, ५६३ आप्रवासीहरूलाई रोकेर लिबिया फिर्ता पठाइएको थियो,” आईओएमले एक विज्ञप्तिमा उल्लेख गरेको छ । आप्रवासीमा ४३ महिला र १२ बालबालिका रहेको आईओएमले जनाएको छ । यससँगै एक आप्रवासीको शव पनि बरामद भएको छ ।
आईओएमको तथ्यांकअनुसार यस वर्ष अहिलेसम्म जम्मा चार हजार ७६७ आप्रवासीलाई रोकेर लिबियामा फिर्ता पठाइएको छ, जबकि ८२ आप्रवासीको मृत्यु मध्य भूमध्यसागरीय मार्गमा भएको र अन्य ५८ जना बेपत्ता भएका छन् ।
सन् २०२१ मा कुल ३२ हजार चार सय २५ गैरकानूनी आप्रवासीहरूलाई उद्धार गरी लिबिया फर्काइयो । सन् २०११ मा दिवंगत नेता मुअम्मर गद्दाफीको पतनपछि लिबियाले असुरक्षा र अराजकताको सामना गरिरहेको छ । रासस/सिन्ह्वा