
काठमाडौं । साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमानले परिकल्पना गरेको निओम सहर परियोजना आर्थिक संकटमा परेको छ । निओम एक फ्युरचस्टिक, कार्बन–न्युट्रल, १६८ किलोमिटर लामो योजनाबद्ध सहर निर्माण गर्ने परियोजना हो ।
निमार्णमा ढिलाइ र लागत बढ्दै गएको परियोजना बनिसक्न अझै ५५ वर्ष र ८.८ ट्रिलियन अमेरिकी डलर खर्च लाग्ने अनुमान छ । हालसम्म यसमा ५० अर्ब अमेरिकी डलर खर्च भइसकेको छ । उक्त लागत साउदीको वार्षिक बजेटभन्दा २५ गुणा बढी हो ।
परियोजना श्रमिक, सडकको समस्या र बिजुलीको अभावले समेत संकटमा परेको छ । योजना संकटमा धकेलिए पनि परामर्श सेवा दिइरहेको कन्सल्टिङ जयन्ट म्याककिन्से एन्ड कम्पनीले वार्षिक १३ करोड अमेरिकी डलर कमाइरहेको छ ।
साउदीका राजकुमार सलमानले सन् २०१७ मा घोषणा गरेको यो परियोजना आठौँ वर्षमा छ ।
साउदीले बनाउन लागेको नियोम सहर लालसागरको उत्तरी छेउमा, अकाबा खाडीको पारि एवं इजिप्टको पूर्व र जोर्डनको दक्षिणमा पर्छ । यो सहर २६ हजार ५०० वर्गकिलोमिटर क्षेत्रमा फैलिने गरी डिजाइन गरिएको छ ।
लामो पारदर्शी लाइनका रूपमा जोडिएका भवनहरू हुने सहरभित्र हाइस्पिड ट्रेन र विद्युतीय सटल, अत्याधुनिक प्रविधिको हब, शतप्रतिशत नवीकरणीय ऊर्जामा चल्ने, मानवनिर्मित हिमाल, आइसल्यान्डदेखि तैरिने लक्जिरी होटेल रहेनजस्ता आकर्षक र ठूलो योजना निओम मेगाप्रोजेक्टभित्र छन् ।
देशको अर्थतन्त्रलाई तेलमाथिको निर्भरताबाट विविधिकरण गर्ने लक्ष्यले अघि सारिएको यो योजना साउदी भिजन २०३० सँग पनि जोडिन्छ । यसअन्तर्गत साउदीले आर्थिक, सामाजिक र सांस्कृतिक विविधिकरण गर्दै पर्यटक र विश्वभरबाट लगानी भित्र्याउने पनि लक्ष्य राखेको छ ।