site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘तीन वर्षभित्र भूमि समस्याको स्थायी समाधान’

विराटनगर । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले अबको तीन वर्षभित्र भूमिहीन, सुकुम्वासी, अव्यवस्थित बसोवास र भूमि क्षेत्रका तमाम समस्या समाधान भएर जाने बताएका छन् । 

संघ, प्रदेश र स्थानीय तहको भूमि समस्या समाधानका लागि सातवटै प्रदेशका भूमिमन्त्री रहेको विषयगत समितिको तेस्रो बैठकलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले संघीय सरकार, सातवटै प्रदेश सरकार, राष्ट्रिय भूमि समस्या समाधान आयोग र मातहतका निकाय हालसम्म देखिएका भूमिसँग सम्बन्धित सबै समस्या समाधान गर्न दत्तचित्त भएर लागेको बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मन्त्री अधिकारीले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणको क्षेत्रमा तीन तहबीच कानुनी एकरूपता ल्याउने, सेवालाई प्रविधियुक्त तुल्याउने, सहकारीका विशेष समस्या समाधानको रणनीतिक खाका पारित गर्ने काम बैठकले गरेको बताए । आफूले मन्त्रालय सम्हालेपछि अधिकार हस्तान्तरण गर्न अग्रसरता देखाएको मन्त्री अधिकारीको भनाइ छ । 

सोही बैठकमा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले संघमा भूमिसम्बन्धी धेरै अधिकार केन्द्रीकृत भएको भन्दै कानुन बनाएर प्रदेशमा हस्तान्तरण गर्न आग्रह गरे । प्रदेश सरकारले आफ्ना संरचना बनाउन समेत संघीय सरकार गुहार्नुपर्ने भन्दै यो अवस्थाको अन्त्य हुनुपर्ने उनले औँल्याए । 

सातै प्रदेशका भूमिमन्त्रीको नेतृत्वमा समिति गठन

राष्ट्रिय भूमि समस्या समाधान आयोगका कामको रेखदेख र प्रभावकारी अनुगमनका लागि सातवटा प्रदेशका भूमि व्यवस्थामन्त्रीको संयोजकत्वमा ५/५ सदस्यीय समिति बनाउने निर्णय गरिएको छ । संघ प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्धको एक महत्त्वपूर्ण संरचना विषयगत समितिको विराटनगरमा भएको तेस्रो बैठकले उक्त निर्णय गरेको हो । 

बैठकमा संघ प्रदेश र स्थानीय तहका एकल र साझा अधिकार कार्यान्वयन गर्न संघीय भूमि ऐनको समयसापेक्ष संशोधन गर्न संघीय भूमि मन्त्रालयले गृहकार्य अघि बढाएको मन्त्री अधिकारीले बताए । बैठकले भूमिको वर्गीकरण, भू–उपयोग योजनाको निर्माण सार्वजनिक जग्गाको व्यवस्थापनका लागि संघ र प्रदेशबीच तालमेल गरेर काम गर्ने निर्णय गरेको छ । 

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  २१:२१
प्रतिक्रिया दिनुहोस्