
काठमाडौं । विगतका सबै सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षकहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । छिटो विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिन नेपाल शिक्षक महासंघको नेतृत्वमा प्रदर्शन गरिएको हो ।
शनिबार (फागुन २४) नयाँ बानेश्वरबाट माइतीघरसम्म गरिएको प्रदर्शनमा देशभरबाट ठूलो संख्यामा शिक्षक सहभागी थिए । उनीहरूले ‘यसअघि भएका सहमति कार्यान्वयन गर’, ‘विद्यालय शिक्षा ऐन जारी गर’ लगायत नारा लगाए ।
विगतका सबै सहमति सम्बोधन हुने विद्यालय शिक्षा ऐन जारी गर्न राज्यलाई दबाब दिनका निम्ति प्रदर्शन गरिएको शिक्षकहरूको भनाइ छ ।
महासंघले प्रदर्शनका निम्ति उपत्यकाबाहिरका शिक्षकलाई पनि काठमाडौं बोलाएको थियो । यही फागुन २५ गते राष्ट्रिय समितिको बैठक बस्ने र आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने महासंघले जनाएको छ ।
यसअघि पनि विद्यालय शिक्षासम्बन्धी विधेयकमा असन्तुष्टि जनाउँदै स्कुल नै बन्द गरेर आन्दोलनमा उत्रिएपछि शिक्षकहरूसँग सरकारले सहमति गरेको थियो । सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै शिक्षक पुनः आन्दोलित भएका हुन् । हिमालयन टेली भ्वाइस