site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रुसी आक्रमणमा युक्रेनमा १२ जनाको मृत्यु, ट्रम्पले दिए धम्की

किभ । पूर्वी युक्रेनमा रातभर गरिएको रुसी आक्रमणमा शनिबार बिहानसम्म कम्तीमा १२ जनाको मृत्यु भएको देशको आपत्कालीन सेवाले जनाएको छ । यो घटना साउदी अरेबियामा अमेरिका र युक्रेनी वार्ताकारबीच युद्धविरामका निम्ति हुने छलफलको केही दिनअगाडि भएको हो ।

युक्रेनको डोनेट्स्क क्षेत्रको डोब्रोपिलियाको केन्द्रमा शुक्रबार राति गरिएको रुसी आक्रमणमा ११ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको आपत्कालीन सेवाले जनाएको छ ।

खार्किभ क्षेत्रका सैन्य प्रमुख ओलेग सिनेगुबोभले शनिबार बिहान बोगोदुखिभ सहरमा गरिएको ड्रोन हमलामा एकजनाको मृत्यु भएको र सातजना घाइते भएका बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि नयाँ प्रतिबन्ध र शुल्क लगाउने धम्की दिएका बेला रातभर हवाई आक्रमण गरिएको हो । अमेरिकी राष्ट्रपतिले शुक्रबार पत्रकारलाई भनेका थिए, “उहाँ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि विश्वास गर्नुहुन्छ । मलाई वास्तवमै युक्रेनसँग सम्झौता गर्न गाह्रो लाग्छ र उनीहरूसँग कुनै विकल्प छैन । रुससँग सम्झौता गर्न सजिलो हुनसक्छ ।”

पत्रकारलाई मन्तव्य दिएको केही समयपछि राष्ट्रपति ट्रम्पले शुक्रबार युक्रेनमा बमबारी गरेकामा रुसमाथि नयाँ प्रतिबन्ध र कर लगाउने धम्की दिएका छन् ।

“रुसले अहिले युद्धभूमिमा युक्रेनलाई पूर्ण रूपमा आक्रमण गरिरहेको छ । म युद्धविराम र शान्ति सम्झौतामा पुग्न नसकेसम्म रुसमाथि ठूलो मात्रामा बैंकिङ प्रतिबन्ध, नाकाबन्दी लगाउने बारेमा दृढतापूर्वक विचार गरिरहेको छु,” ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममा उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, “रुस र युक्रेन, अब वार्ताको टेबलमा आउनुहोस् ।”

ट्रम्पको धम्की यस्तो समयमा आएको हो, जब रुसले शुक्रबार युक्रेनको ऊर्जा पूर्वाधारमा ठूलो ड्रोन र मिसाइल आक्रमण गरेको थियो ।

केही दिनअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको विवादपछि ट्रम्प प्रशासनले युक्रेनमा अमेरिकी सैन्य सहायता वितरण र गुप्तचर आदानप्रदानमा रोक लगाएको थियो ।

नेसनल इकोनोमिक काउन्सिलका निर्देशक केभिन ह्यासेटले ट्रम्पको धम्की कूटनीतिक रणनीतिको हिस्सा भएको बताए । “राष्ट्रपति ट्रम्प अडिग छन् कि हामीले सबैलाई वार्ताको टेबुलमा ल्याउनुपर्छ । उहाँले सबैसँग कुरा गर्दै हुनुहुन्छ,” ह्यासेटले पत्रकारसित भने । रासस/एएफपी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  १४:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro