site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध गिरफ्तारी वारेन्ट जारी

काठमाडौं । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध ट्रिब्युनल (आईसीटी)ले आइतबार देशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको छ ।

यसअघि, न्यायालयले जुलाई–अगस्ट २०२३ मा मानवताविरुद्ध अपराधसँग जोडिएको एक मुद्दामा हसिनाविरुद्ध औपचारिक आरोप लगाएको थियो । ट्रिब्युनलमा उनीविरुद्ध पाँचवटा आरोप दर्ता गरिएका छन्, जसमा उनलाई मानवताविरुद्ध अपराधको आदेश दिने प्रमुख व्यक्ति भनिएको छ ।

Argakhachi Cement Island Ad

बीबीसी बंगला सेवाका अनुसार, आरोपपत्रमा विभिन्न तथ्यांक, कागजात, भिडियो, अडियो रेकर्डिङ तथा अन्य प्रमाणहरू समावेश गरिएका छन् । यस मुद्दामा ८१ जनालाई साक्षीको रूपमा उपस्थित गराइनेछ ।

यसै मुद्दामा देशका पूर्वगृहमन्त्री असदुज्जमान खान र पूर्वप्रहरी महानिरीक्षक चौधरी अब्दुल्ला अल–मामुनविरुद्ध पनि आरोप लगाइएको छ । खानविरुद्ध पनि गिरफ्तारी वारेन्ट जारी भएको छ भने मामुन पहिले नै जेलमा छन् ।

आईसीटीमा यस मुद्दाको सुनवाइ आइतबार दिउँसो १२ः१५ बजे सुरु भएको थियो र यसलाई राज्य टेलिभिजन बीटीभीले प्रत्यक्ष प्रसारण गरेको थियो ।

१४ सयभन्दा बढीको मृत्युको आरोप
मे १२ मा जाँच एजेन्सीले पेस गरेको प्रतिवेदनअनुसार, मुख्य अभियोजक ताजुल इस्लामले पत्रकार सम्मेलनमा शेख हसिना जुलाई–अगस्त २०२३ मा भएका विरोध प्रदर्शनहरूमा १४ सयभन्दा बढी नागरिकको मृत्युका लागि प्रत्यक्ष रूपमा जिम्मेवार भएको दाबी गरेका थिए । उनले सुरक्षा बलले गरेका कार्यहरूलाई सुयोजित, व्यापक र नियोजित दमन भनेका थिए ।

देश छोडेर पलायन
गत वर्ष विद्यार्थी आन्दोलनको चरम अवस्थामा शेख हसिना बंगलादेश छोडेर भारत गएकी थिइन् । यसअघि उनले आफूविरुद्ध लगाइएका आरोपहरू राजनीतिक प्रतिशोध भन्दै पूर्ण रूपमा खारेज गर्दै आएकी छिन् ।

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  २०:४१
प्रतिक्रिया दिनुहोस्