site stats
बाह्रखरी :: Baahrakhari
विदेश
गाजामा राहत वितरण केन्द्रनजिकै इजरायलको गोलाबारी, ३१ प्यालेस्टिनी मारिए

काठमाडौं । दक्षिणी गाजाको रफाह क्षेत्रमा अमेरिकी सहयोगबाट वितरण भएको राहत सामग्री केन्द्रनजिकै इजरायली ट्यांकहरूले गरेको गोलाबारीमा ३१ जनाको मृत्यु भएको छ । अन्य २०० जना घाइते भएको हमास–नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हजारौँ प्यालेस्टिनी नागरिक अमेरिकाले पठाएको मानवीय सहयोग वितरण केन्द्रनजिकै जम्मा भएका बेला इजरायली ट्यांकले भिडमाथि गोलाबारी गरेको रफाहका एक स्थानीय पत्रकारले बीबीसीलाई बताएका छन् ।

Argakhachi Cement Island Ad

स्थानीय पत्रकार र अभियानकर्ताहरूले हमलाको दृश्य सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । घटनास्थलमा खोज उद्धारकर्ता पुग्न नसकेपछि धेरै घाइते र मृतकलाई अल–मवासी क्षेत्रमा रहेको रेडक्रस फिल्ड अस्पताल लगिएको छ ।

स्थानीय पत्रकारले बताएअनुसार, स्थानीय समयानुसार बिहान ४ः३० बजे अल–आलम चोकनजिकै भिड जम्मा भएको थियो । जुन गाजा ह्युमेनिटेरियन फाउन्डेसनले सञ्चालन गरेको राहत केन्द्रनजिकै थियो । तत्काल इजरायली ट्यांकहरू त्यहाँ पुगेर गोलाबारी सुरु गरेका थिए ।

“मृतक र घाइते धेरै समयसम्म जमिनमा लडिरहेका थिए । इजरायली नियन्त्रणमा रहेका कारण उद्धार समूह त्यस क्षेत्रमा पुग्न सकेनन् । यसले गर्दा मानिसले खच्चडमा राखेर घाइतेहरूलाई फिल्ड अस्पताल पुर्‍याएका थिए,” ती पत्रकारले भने ।

बीबीसीबाट ।

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  १५:४४
प्रतिक्रिया दिनुहोस्