
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले भ्रमको खेतीमा पीएचडी पाउन मिल्ने हो भने अहिलेको सरकारलाई दिए हुने बताएका छन् । सोमबार सामाजिक सञ्जालमा उदाहरणसहित लेख्दै मेयर बालेनले यस्तो बताएका हुन् ।
उनले काठमाडौं भ्यूटावरको नक्सा पासको स्वीकृति मेयरले दिएको भन्ने भ्रम फैलाएको बताएका छन् । "कहिलेदेखि नक्सापास मेयरले गर्न थाले ? सामान्य कानुनको ज्ञान राख्नेले पनि भन्न सक्छ कि यसको अधिकार मेयरसँग हुँदैन । कानुनले यही भन्छ," उनले लेखेका छन् ।
त्यस्तै, आफूसँग प्रमुख प्रशासकीय अधिकृत टिक्दैनन् भनेर भ्रम फैलाएको बताएका छन् ।
"अहिलेसम्मको हाम्रो कार्यकालमा चारजना कार्यकारी हटेका छन् । चारमध्ये दुईलाई हटाउनुको कारण उनीहरू भ्रष्टाचारमा संलग्न रहेको भनेर हो । के कार्यकारी टिक्छन् भन्ने देखाउन हामीले भ्रष्टहरूलाई संरक्षण गरिराख्नुपर्ने हो ? दुईजनालाई सरकारले हटाएको हो, त्यो पनि महानगरलाई जानकारी समेत नदिएर," बालेनले लेखेका छन्,"हामीले भ्रष्टाचारमा जोडिएकाले हटाएका हौँ । सरकारले के कारण हटायो ? हामीले दुईजना भ्रष्टहरूलाई हटाउँदा कार्यकारी टिक्न दिएन भन्ने सरकारले उत्तिनै संख्यामा तर असल काम गरेर बसेकालाई हटाउँदा काठमाडौंमा असल कार्यकारी टिक्न सरकारले नै दिँदैन भन्ने अर्थ लाग्दैन र ?"