
काठमाडौं । संयुक्त जनआन्दोलन परिचालन समितिले भोलि (जेठ १५) गते रत्नपार्कबाट सुरु गर्ने भनिएको प्रदर्शनका लागि अझै जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छैन ।
राजावादीले गर्ने प्रदर्शनका लागि कुनै ठाउँ उपलब्ध नगराएर प्रदर्शन दबाउने रणनीतिमा सरकार छ । राजावादीले गर्ने प्रदर्शनको अवस्थाबारे जानकारी लिन आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र मंगलबार गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको बैठक डाकेका थिए ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखले राजावादीको प्रदर्शन ठूलो नहुने तर अराजक गतिविधि हुन सक्ने रिपोर्टिङ गरेका छन् ।
प्रदर्शनको अवस्था र उनीहरूको गतिविधिबारे जानकारी लिन काठमाडौं प्रहरीले मंगलबार रातिदेखि नै उपत्यका भित्रिने विभिन्न नाका र काठमाडौंका विभिन्न होटलमा समेत ‘सर्च अपरेसन’ चलाएको छ ।
उपत्यका प्रहरी कार्यालय स्रोतका अनुसार, मंगलबारसम्म काठमाडौं बाहिरबाट प्रदर्शनका लागि खासै मानिस भित्रिएका छैनन् । ‘‘जनप्रदर्शन गर्ने भनेजस्तो मानिसको उपस्थिति होलाजस्तो देखिँदैन । बढीमा सातहजार जति मानिस होलान् भन्ने हाम्रो अनुमान छ । बाहिरबाट आज कति भित्रिन्छन्, त्यसमा पनि भर पर्छ,’’ ती प्रहरी अधिकारीले भने ।
संयुक्त जनआन्दोलन परिचालन समितिले नै गएको चैत १५ मा आयोजना गरेको तीनकुनेको प्रदर्शन अराजक बनेको थियो । त्यसको दुई महिनापछि हुन लागेको राजावादीको दोस्रो प्रदर्शन अराजक हुन नदिन सरकारले उच्च निगरानी राखेको हो ।
बुधबारमात्रै उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङले पनि मातहत कार्यालयका सबै प्रहरी अधिकारीलाई भृकुटीमण्डपस्थित पुलिस क्लबमा बोलाएर कडा निर्देशन दिएका छन् ।
राजावादीले गर्न लागेको प्रदर्शनको पूर्वसन्ध्यामा उनले मातहतका प्रहरी अधिकारीलाई राजावादीको आन्दोलन अराजक हुन खोजे सुरुमै बल प्रयोग गर्न भनेका छन् । अराजकता बढ्ने अवस्था गोली चलाउन निर्देशन दिएको सहभागी एक अधिकारीले बताउँछन् ।
‘‘चैत १५ को जस्तो अराजक प्रदर्शन गर्न खोजे सुरुमै बल प्रयोग गर्नुहोला, हेरेर नबस्नू । यो राज्यको व्यवस्थाविरुद्धको प्रदर्शन हो । यसलाई सामान्य मान्नुहुँदैन । सामान्य बल प्रयोग हुँदा अराजकता बढ्ने अवस्था आए गोली चलाउने अधिकार तपाईंहरूलाई आज नै दिएँ । भोलि सोध्नुपर्दैन । तर, गोली प्रहार हुँदाको अवस्थाबारेको आधार भने दिनुपर्ने हुन्छ,’’ एआईजीको तामाङको भनाइ उद्धृत गर्दै तीन अधिकारीले भने ।
उसो त प्रहरी नियमावलीले नै घटनाको अवस्था हेरेर गोली चलाउने अधिकार प्रहरी अधिकारीलाई दिइएको छ । तर, व्यवहारमा प्रहरी अधिकारीले त्यो प्रयोग गरेका छैनन् । गोली चलाउनुपर्ने अवस्था आए फिल्ड कमान्डर हुँदै जिल्ला प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीको आदेशपछि मात्रै गोली चलाइँदै आएको छ । तर, भोलिका लागि आज नै कमान्डरलाई गोली चलाउनेसम्मको अधिकारी कमान्डरलाई दिइएको छ ।
आईजीपी तामाङको बिफ्रिङलगत्तै प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले समेत बुधबार प्रहरी प्रधान कार्यालयमै रानीपोखरी प्रमुखसहित जिल्ला प्रहरी परिसर काठमाडौं, ललितपुर प्रहरी प्रमुख, उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुखसहितको बैठक डाकेका छन् ।
हरेक महिनाको दोस्रो बुधबार आईजीपी थापाले उपत्यका कमान्डरसित नियमित बैठक राख्ने गरेका छन् । तर, यो बुधबारको बैठकमा भोलि राजावादीले गर्ने प्रदर्शनबारे छलफल र रणनीतिको विषयमा केन्द्रित हुने प्रहरी प्रधान कार्यालयका एक प्रहरी अधिकारीले बताए ।
राजसंस्था पुनर्स्थापना, हिन्दुराष्ट्रको माग गर्दै राजावादीले गएको चैत १५ गतेबाट नियमिति प्रदर्शन गर्ने घोषणा गरेका थिए । तर, उक्त प्रदर्शन नै अराजक बनेपछि सरकारले प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंसहित प्रदर्शनमा अराजक गतिविधि गर्नेहरूलाई कानुनी दायरमा ल्याएको थियो ।
प्रदर्शनमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र, सांसद धवलशमशेर राणासमेत पक्राउ परेका थिए । उनीहरूसहित ६२ जनाविरुद्ध विभिन्न कसुर शीर्षकमा आइतबारमात्रै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । सोमबारदेखि अदालतमा उनीहरूको बयान सुरु भएको छ ।
पूर्वपञ्च नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन परिचालन समितिले बिहीबार पुनः दोस्रो पदर्शन गर्न लागेको हो ।
प्रदर्शनमा राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालसमेत सहभागी हुनेछन् । सुवेदी नेतृत्वको जनआन्दोलन समितिलाई जिल्ला प्रशासन काठमाडौंले चैत १५ मा प्रदर्शन गर्न तीनकुनेमा ठाउँ उपलब्ध गराएको थियो ।
त्यो बेला संवेदनशील मानिएको तीनकुनेमा ठाउँ उपलब्ध गराएको भन्दै जिल्ला प्रशासन कार्यालयको चर्को विरोध भएको थियो । बिहीबार गर्न लागेको दोस्रो प्रदर्शनका लागि अझै ठाउँ उपलब्ध गराइएको छैन ।