
काठमाडौं । गृहसचिवको नेतृत्वमा हुने बढुवा समितिले बिहीबार सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक (एआईजी) मा डीआईजी गणेशबहादुर ठाडा मगरलाई बढुवाका लागि सिफारिस गर्यो । एक महिनादेखि रिक्त एआईजी पदका लागि १० जना प्रतिस्पर्धी डीआईजी थिए । तर, मगरले बाजी मार्दै सशस्त्र प्रहरी बलको भावी नेतृत्वका लागि ढोका खोलेका हुन् ।
वैशाख २ गते एआईजी चन्द्रप्रकाश गौतमले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाएपछि एआईजीको पद रिक्त भएको थियो । पद रिक्तको केही दिनमै सशस्त्र प्रहरी प्रधान कार्यालयले एआईजी बढुवाका लागि सम्भावित डीआईजीहरूबाट आवेदन आह्वान गरेको थियो ।
जसमा हाल एआईजीमा सिफारिस भएका मगरसहित कमल गिरी, कुलबहादुर नेम्बाङ र शम्भू सुवेदी मुख्य प्रतिस्पर्धामा छन् । उनीहरुबाहेक सशस्त्र प्रहरी बलको पहिलो ब्याच सि.न–१ एक को टोलीसमेत एआईजीका आकांक्षी थिए ।
बाँकी नौ जनालाई पछि पार्दै मगरलाई बिहीबार बसेको बढुवा समितिले एआईजीका लागि सिफारिस गरेको हो । मगर सशस्त्र प्रहरीको एसएसपीबाट डीआईजी हुँदा भने २ नम्बरमा थिए । उनीभन्दा अघि अर्का डीआईजी कमल गिरी थिए ।
तर, एआईजी हुँदा भने गिरीलाई पछि पार्दै आफूलाई भावी आईजीपीका रुपमा उभ्याएका हुन् । उनीसँगै बढुवाका मुख्य प्रतिस्पर्धी गिरी, नेम्वाङ र सुवेदीभने डीआईजीबाट नै अवकाश पाउनेछन् । गिरी र मगरमध्ये एकजनालाई बढुवा गर्नुपर्ने दबाबका कारण एक महिनासम्म बढुवा रोकिएको थियो ।
भोजपुरका गिरी र धनकुटाका मगरबीचको बढुवाको समयमा शीर्ष नेताको पनि चर्को दबाब भएको पाइएको छ । एसएसपीसम्म मगर एक नम्बरमै थिए । तर, एसएसपीबाट डीआईजी हुँदा भने कमल गिरी आए । जसकारण एआईजीको बढुवा सिफारिस पेचिलो बनेको थियो । अझ भावी आईजीकै लाइनमा बस्ने भएपछि बढुवा पेचिलो बनेको थियो ।
उनीहरु चारजनाकै सेवा अवधिमा सरकारले गत वर्षको पुसमा एक वर्ष थप गरेको थियो । अब मगरबाहेक उनीहरु तीनजना नै आगामी पुसमा अवकाश पाउनेछन् । सशस्त्र प्रहरी बलको नियमावली सशस्त्र प्रहरी बलको पदावधि चार–चार वर्ष रहने व्यवस्था गरेको छ ।
सोही व्यवस्थाअनुसार अवकाशको दिनमा पुगेका चार जनालाई नै सरकारले थप एकवर्ष कार्यकाल थपेको थियो । तर, एआईजी गौमतले यही बीचमा अवकाश पाएपछि मगरको भाग्य उदाएको हो– त्यो पनि डीआईजीका एक नम्बरका प्रतिष्पर्धी डीआईजीलाई पछि पार्दै ।
सशस्त्र प्रहरी बलका एक अधिकारीका अनुसार सशस्त्र प्रहरी बलमा हालसम्म आईजीपी नियुक्ती र डीआईजीबाट एआईजी हुँदा रोलक्रम मिचिएको थिएन । पहिलोपटक मगरले एक नम्बरका गिरीलाई पछि पार्दै उनी एआईजीका लागि सिफारिस भएका हुन् ।
मगर, गिरी र नेम्वाङ २०५६ मा नेपाल प्रहरीको निरीक्षकमा भर्ना भएका थिए ।
शम्भु सुवेदी भने हालका आईजीपी राजु अर्यालसँगै २०५४ मा प्रहरीमै भर्ना भएर सशस्त्रमा प्रवेश गरेका अधिकारी हुन् । तर, बढुवा भने उनी पछि पर्दै आएका थिए । यो पटकसमेत उनी पछि परेका हुन् ।
हालका आईजी अर्यालले आगामी वैशाखमा आईजीपीको चारवर्षे कार्यकालका आधारमा अवकाश पाउनेछन् । उनीपछि उनकै ब्याचीहरु एआईजी नारायणदत्त पौडेल र बंसी दाहालमध्ये एकजना आईजीपी हुनेछन् ।
दाहालभन्दा पौडेल एआइजी हुँदा अघि भएका थिए । उनी हालकै आईजीपी अर्यालका प्रतिस्पर्धीसमेत हुन् । उनीहरुमध्येबाट हुने आईजीपीको कार्यकाल दुई वर्षमात्रै हुनेछन् । अर्का एआईजीले ३० वर्षेसेवा अवधिका कारण अवकाश पाउँनेछन् । तर, हाल सिफारिस भएका मगरमात्रै बाँकी रहनेछन् । अहिलेकै अवस्थामा पौडेल र दाहाल पछि उनी आईजीपी बन्नेछन् ।