
काठमाडौं । घरेलु मैदानमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल र म्यानमारले २–२ को बराबरी खेलेका छन् ।
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा चारै गोल पहिलो हाफमा भएको हो । म्यानमारकी म्यात नोइ खिनले छैटौँ मिनेटमा फ्रिकिक मार्फत अग्रता दिलाएकी थिइन् । तर, म्यानमारको यो अग्रता लामो समय टिक्न सकेन । खेलको ११औँ मिनेटमा नै सविता रानामगरले गोल गर्दै नेपाललाई खेलमा फर्काइन् । सावित्रा भण्डारीले उपलब्ध गराएको पासलाई सविताले पोस्टको दिशा दिएकी हुन् ।
१६औँ मिनेटमा नेपाली रक्षापंक्तिबाट भएको कमजोरीको फाइदा उठाउँदै म्यानमारले पुनः २–१ को अग्रता बनायो । पेनाल्टी बक्सभित्र नेपालकी रक्षक गिता रानाले बल क्लियर गर्न नसक्दा म्यानमारकी मे तेत तु ले फाइदा उठाँउदै एक गोल थपेकी हुन् ।
तर, ४०औँ मिनेटमा सावित्रा भण्डारीले गोल गरेपछि पहिलो हाफ २–२ को बराबरीमा समाप्त भएको थियो ।
यो नतिजासँगै म्यानमार प्रतियोगिताको लिग विजेता बनेको छ । म्यानमारले लिग चरणमा तीन खेल खेल्दा सात अंक जोड्दै शीर्ष स्थान हासिल गरेको हो । समान अंक रहे पनि नेपाल दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको छ ।
प्रतियोगिताको फाइनल खेलमा उपाधिका निम्ति नेपाल र म्यानमारले नै प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ ।
चार टिमको सहभागिता रहे पनि लेबनान र कीर्गिस्तान भने लिग चरणबाटै बाहिरिएका छन् । तीन खेलबाट तीन अंक जोडेको लेबनान तेस्रो र अंकविहीन कीर्गिस्तान पुछारमा रहँदै लिग चरणबाट बाहिरिएका हुन् ।