
पोखरा । गण्डकी प्रदेश सरकारले पटकपटक नीति, कार्यक्रम र बजेटमा घोषणा गरेका महत्त्वपूर्ण खेल पूर्वाधारका योजना कार्यान्वयनमा आउन सकेका छैनन् । निर्माण सुरू हुन नसकी अलपत्र रहेका ती योजनालाई प्रदेश सरकारको नीति तथा कार्यक्रममा भने बर्सेनि प्राथमिकताकासाथ समावेश गर्ने गरिएको छ ।
बुधबार सार्वजनिक आगामी आव २०८२/०८३ को नीति तथा कार्यक्रममा पनि तिनै खेल पूर्वाधार निर्माणको घोषणाले निरन्तरता पाएको छ । खेलकुद प्रवर्द्धन गर्न पूर्वाधार निर्माण, खेलाडी सम्मान र खेल पर्यटनको विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । संघ, प्रदेश र स्थानीय तहबीचको साझेदारीमा मुस्ताङमा उच्च पर्वतीय रंगशाला निर्माणलाई अगाडि बढाउने जनाएको छ ।
प्रदेश सरकारले आव २०७५/७६ मै मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा उक्त रंगशाला बनाउने घोषणा गरेको थियो । जसलाई संघ सरकारले समेत आगामी आवको बजेटमा समावेश गरेको छ । प्रदेश सरकारले घोषणा गरेकै वर्ष आयोजनाको प्राविधिक अध्ययन र विस्तृत परियोजना प्रतिवदेन (डीपीआर)का लागि एक करोड रुपैयाँ बजेट छुट्याएको थियो ।
प्रदेश गौरवको आयोजनाका रूपमा रहेको सो आयोजनामा बर्सेनि छुट्टिने बजेट कामै नभई ‘फ्रिज’ हुने गरेको छ । जग्गा प्राप्तिमा भएको ढिलासुस्तीले रंगशाला निर्माणको योजना सुस्ताएको प्रदेश सरकारको भनाइ छ । प्रसिद्ध मुक्तिनाथ मन्दिरको दक्षिणपट्टी छिङ्गुरमा जग्गा व्यवस्थापनको काम भइरहेको जनाइएको छ । थोरङ भञ्ज्याङ जाने मार्गको ३७ सय मिटरभन्दा बढीको उचाइमा छिङ्गुर क्षेत्र पर्छ । उक्त रंगशालामा फुटबल मैदान, कभर्डहलदेखि आवश्यक खेल पूर्वाधार बन्ने जनाइएको छ ।
आगामी आवको नीति तथा कार्यक्रममा प्रदेशमा क्रिकेट रंगशाला निर्माणको पनि घोषणा गरिएको छ । उक्त घोषणा पनि नयाँ भने होइन । प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा समेटेको क्रिकेट रंगशाला पनि जग्गाकै कारण अन्योलमा परेको छ । पोखरा महानगरपालिका–३३, पशुपतिघाटमा अन्तरराष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणको पहल विसं २०७१ देखि नै सुरू भएको थियो । प्रदेश सरकार बनेपछि लाखौँ खर्चेर रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पनि तयार पारियो ।
रंगशाला निर्माणको काम सुरू हुन सकेन । रेखदेख र संरक्षण नहुँदा रंगशालाको जग्गा नदी कटानको जोखिममा परेको छ । पशुपतिघाटमा रंगशाला बनाउने योजना अलपत्र छाडेर प्रदेश सरकार अहिले नयाँ जग्गाको खोजीमा लागेको छ । पशुपतिघाटमा रंगशालाको योजना दिगो हुने नदेखिएपछि विकल्प खोजिएको प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।
क्रिकेटको गन्तव्य सहरका रूपमा विकास गर्न पोखरामा अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला चाहिने खेल क्षेत्रको पदाधिकारीहरूको माग छ । क्रिकेट रंगशालाका लागि एक अर्ब ३६ करोड लागत लाग्ने अनुमान गरिएको छ । विस्तृत परियोजना प्रतिवदेनमा १८ हजार दर्शक क्षमताको प्यारापिटसहित टी–२०, एक दिवसीय र टेस्ट म्याच खेल मिल्नेगरी पूर्वाधार तयार पारिने उल्लेख छ । रासस