site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
उषा र उमाकान्त

जति गरे पनि केटीले भन्न छाडिन, ‘बिहे गरौँ ।’ केही महिना मात्र होइन, केही वर्षभन्दा बढी । त्यस दिन हार मानेर उसले भन्नै लागेको थियो, ‘हुन्छ ।’

अगिपछि सोचेर आफूलाई हुन्छ भन्नबाट रोकिराखेको त्यही छोटो अन्तरालमा तर केटीले भनी, ‘तिमी मसँग बिहे गर्दैनौ भने म अर्को केटासँग बिहे गर्छु ।’ 

केटो उमाकान्त दिक्दार परिसकेको थियो, किन मैले केटीलाई प्रेम निवेदन गरेछु भनेर ।

Dabur Nepal
NIC Asia

कतै टिक्ने गरी आफ्ना खुट्टामा उभिन पाइएको छैन, केटीको बिहे गर्ने आग्रहले उसलाई राति सुखले निदाउन दिँदैनथ्यो । तर, केटी सजिलै उसको प्रेममा लट्ठिएली भन्ने लागेको थिएन, सिलसिला चलिरहेकै थियो । केटी कहिलेकाहीँ आफूमै सोचमग्न हुन्थी ।

केटीले त्यसरी सजिलै उसलाई छाडेर अर्कोसँग बिहे गर्छु भनेपछि केटो पारासुट भिरेर आकाशबाट हामफालेझेँ खुसी भयो । यद्यपि, यो उपमा धेरै मिल्दो थिएन । 

तर, एउटा कुरा यो हुन सक्थ्यो, उसले पारासुटबाट पहिलोपटक हामफाल्दा जिउ सिरिङ्ङ हुने गरेझैँ बिहेको झन्झटबाट मुक्ति पाउँदा खुसीले जिउ सिरिङ्ङ भएको जनाउन खोजेको । 

अचेल उसले खासै जिउ सिरिङ्ङ हुने गरी आनन्दानुभूति गर्न पाएको थिएन, तर केटी उषाले त्यो उसलाई अनायासै उपलब्ध गराई ।

केटो उमाकान्त अलिअलि पछुतो मान्ने तयारीमा थियो । हेर्दा निकै नै सुन्दरी थिई केटी । उन्नत वक्ष, लचिलो र मादक देह र अन्य विवरण दिन उसले आँट गरेन । धेरै बयान गर्दा शृंगार रसलाई बयानले मर्दन गरेर अश्लीलतातिर बढ्ने डर थियो ।

तर, उसको मनमा केटी उम्किन लागेकोमा पश्चात्ताप थियो । एकपटक केटोले यो पनि सोच्यो– व्यर्थैमा बिहे गर्दिनँ भनेँ । घरगृहस्थीवाल भएपछि सुखदुःख जिन्दगी कटिहाल्ने थियो । भन्ट्याङभुन्टुङ पनि हुने थिए ।

तर, भन्ट्याङभुन्टुङ दुईभन्दा तीन हुन दिनु हुँदैन । अचेलभरि हामी दुई हाम्रा दुई भन्ने परिवार नियोजनको विज्ञापन पनि देखिन्न । अब जतिजना जन्माए पनि हुने दिन आएछन् कि क्या ?

सरकारले जनसंख्या बढोत्तरीको स्किम पो ल्याएको छ कि ? तर, उमाकान्तले सोच्यो– यी सब झमेलावाला कुरा पछि हुँदै गर्छन् ।

तर, केटीले सहजै उसलाई छाड्छु भन्नुले उसको प्रेम सच्चा प्रेम रहेनछ भन्ने उमाकान्तले निष्कर्ष निकाल्यो । उसको वा उसको ? माने उमाकान्तको प्रेम झुटो कि केटी उषाको ?

यसबारे केटामा दोधार थियो । उसले मान्यो उसैको प्रेम कमजोर रहेछ नत्र केटीले यति सहजै बीचैमा अर्को केटातिर औँल्याएर दृढतासाथ म ऊसँग बिहे गर्छु भन्ने थिइन ।

उमाकान्त मनमनै खुसी थियो – आफ्नो प्रेम सच्चा प्रेम हो, नत्र उसले पनि सहजै केटीलाई अर्कोसँग बिहे गर्ने मौन स्वीकृति दिने थिएन ।

उमाकान्तको मौन स्वीकृति भन्नु यस अर्थमा – उसले हुन्छ पनि भनेन, हुन्न पनि भनेन । तर, केटी उषाको निर्णय थियो, अब ऊ उमाकान्तलाई छाड्ने भई । केटोले पनि मौन रहेर स्वीकृति प्रदान गरेजस्तै देखियो ।

अब चुँडिएको मायाप्रेम पुनः गाँस्नु बेकारै थियो । जब दिल ही टुट गया...। उमाकान्त हिन्दी चलचित्र प्रेमी थियो, त्यसैले यो ‘जब दिल ही टुट गया’ भन्ने गीत सम्झन पुग्यो ।

नेपालीमा उसले मनमनै गायो, ‘मुटुमाथि ढुंगा राखी हाँस्नु पर्‍या छ ।’ यो गीत केटीका लागि उपयुक्त देखियो ।

साँच्चि नै उमाकान्तले मनमा कुनै पीडा छैन भन्ने जनाउ दिन केटीतिर हेरेर मुस्काइदियो । खुलेर हाँस्नु केटीमाथि व्यंग्य वा उपहास गरेको ठहरिने थियो । यसले केटीको मन खिन्न गराउन सक्थ्यो ।

केटीले त उसलाई बिहे गरौँ भनेकी नै थिई । त्यसमा उमाकान्तले मन दुखाउने वा मन उदास पार्ने गीत सम्झिनुपर्ने खण्ड थिएन । उल्टो भइरहेथ्यो ।

उमाकान्तले भन्यो, ‘जाँदाजाँदै एकेक कप कफी भइजाओस् न त उषा ।’ 

कफीसप उनीहरू सधैँ जाने ठाउँ थियो । उसले उषा भनेर सम्बोधन गरेपछि केटीले तत्काल तत्परताका साथ जवाफ दिई, ‘अब तपाईंले उषा भनेर सम्बोधन गर्ने होइन, उषाजी भन्ने हो । नाम काढेर बोलाउन मन लागेन भने बहिनी भन्दा पनि हुन्छ ।’

यो त धेरै नै अन्याय हो । हिजोसम्म जो उसको लभर थिई उसैले आज उसलाई तिमीबाट तपाईं भन्दै यो नभन्नोस् र उ नभन्नोस् भनिरहेकी छ ।

वास्तवमा उषाको प्रेममा गम्भीरता रहेनछ । कस्तो मजाक हो यो, हे ईश्वर ! ईश्वरको नाम त लियो उमाकान्तले तर ऊ कहिल्यै मन्दिर गएको होइन । तिइँ पशुपतिनाथको दर्शन नगरेको पनि वर्षौं भयो ।

तर, केटीको अनुहारमा गम्भीरता थियो । उसलाई उषा भनेर अर्कोपटक उमाकान्तले सम्बोधन गर्ने साहस पनि गरेन । उसले केटी भएतिर हेरिरह्यो । केटीले थप केही भनिन, तर उसैले निम्त्याएझैँ भनी, ‘जाऊँ त कफी खान ।’

उमाकान्त पकेटमा हम्मेसी एउटा पाँच सयको नोट बोकेर हिँड्थ्यो । पकेट छाम्यो, नोट यथावत् थियो । महँगी त बढेको छ, तर पाँच सयमा दुई कप क्यापुचिनो हो कि अर्को केहो भन्ने कफी कसो नपाइएला ?

फेरि बिदाइ पनि थियो, केटी र उसको माझमा । पाँच सयको नोट कफी पसलेलाई बुझाएर पारपाचुके पाइएझैँ भयो भने सस्तैमा छुट्टियो भन्नुपर्ला ! यो विचार उमाकान्तले त्याज्य मान्यो, किनभने केटीलाई ऊ सच्चा प्रेम गर्थ्यो ।

अझ एक वर्ष पर्खेको भए उसले सहजै बिहे गर्ने थियो । तर, केटी कुन्नि कुन हतारोमा थिई ? भेटैपिच्छे बिहेको रटान लगाउँथी । उसले केटीलाई कुनै पासोमा पारेको पनि थिएन ।

केटी स्वस्थ थिई, अक्षुण्ण — माने ऊ जन्मजात जस्ती थिई त्यस्तै थिई । उसले हात पनि लगाएको थिएन । एकदुईपटक यत्ति मात्र, गालामा चुम्बन गरेको थियो । त्यो पनि केटीले उसको सामु गाला तेर्स्याएर आमन्त्रण गरेकीले ।

‘म्वाइँ नखाने ?’ केटीलाई साहसी मान्न पर्थ्यो । म्वाइँभन्दा उमाकान्त अगि बढेन । सदाचारी थियो । ऊ यो चाहँदैनथ्यो, म्वाइँभन्दा अगि बढेपछि केटीले निकट भविष्यमै भन्न सक्थी — निहुँका लागि भए पनि नभए पनि, ‘म गर्भवती छु ।’

बिहे गर्नु नै थिएन यस कालखण्डमा भने अल्झो सिर्जना गर्ने पक्षमा थिएन उमाकान्त । केटीले फसाउनलाई भन्न पनि सक्थी, ‘म गर्भवती छु ।’ तर, यो अचेल चलनमा छैन ।

पहिलेपहिलेका पुराना फिलिमका सिचुएसन हुन् यिनी । अचेल केटीहरूलाई सबै थाहा छ, प्रेममा फसेपछि इज्जत जान नदिन केके गर्नुपर्छ भनेर ।

तर, कफीसपमा एउटा घटना यो भयो — एउटा तन्नेरी भित्र पस्यो । उषाले उज्यालो अनुहार पार्दै भनी, ‘उः त्यै हो मेले बिहे गर्ने साथी ।’

उमाकान्त त्यो तन्नेरीलाई चिन्दथ्यो । ऊ छक्क पर्‍यो, महाछक्क । भन्यो, ‘उषा, त्यो त अन्य हो ।’

उषा हाँसी र हाँस्दै भनी, ‘म पनि त अन्यमा गइरहिछु । पुरुषप्रति मेरो प्रेम र आकर्षण घटिसकेको छ ।’ 

उमाकान्तले विश्वास गरेन । यो के सुन्दै छ, देख्दै छ ऊ ! यसरी ऊसँग उषाले बदला लिन खोजेकी त होइन ?    
    
  

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  ०६:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro