site stats
बाह्रखरी :: Baahrakhari
देश
राजुनाथ पाण्डेलाई गुरागाईंले हटाउन सक्छन् ! यस्तो छ ६ बुँदे स्पष्टीकरण

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले सोमबार स्पष्टीकरण बुझाएका छन् ।  पाण्डेले महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई स्पष्टीकरण बुझाएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृतनिकट स्रोतका अनुसार, सातबुँदे स्पष्टीकरणमध्ये पाण्डेले मेयरको आदेश पालना गरेको र गाडीको सुरक्षाका लागि ह्विललक लगाएको बताएका छन् । 

त्यस्तै, गुरागाईं प्रवेशको दिन महानगरको कार्यालयमा अनधिकृत मानिस प्रवेश गर्नसक्ने जोखिम मध्यनजर गरी नगरप्रहरी बल खटिनुपरेको जिकिर उनको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गत चैत २१ गते गुरागाईं कार्यालय प्रवेश गर्ने क्रममा पाण्डे नेतृत्वको नगरप्रहरी बलले उनलाई रोक्ने प्रयास गरेको थियो । त्यो दिनको घटनाका विषयमा गुरागाईंले जेठ यही जेठ ६ गते पाण्डेसँग स्पष्टीकरण सोधेका थिए ।

यस्तो छ कानुनी व्यवस्था 

काठमाडौं महानगरपालिका महानगर प्रहरी सेवालाई व्यवस्थापन गर्न बनेको महानगर प्रहरी ऐन २०८० का अनुसार, महानगरपालिका प्रहरी प्रमुखको रहने वा नरहने महानगरको प्रमुख प्रशासकीय अधिकृतको हातमा निहीत छ । 

महानगर प्रहरी ऐन, २०८० मा महानगर प्रहरी गठन, रेखदेख तथा नियन्त्रणसम्बन्धी व्यवस्था छ । “महानगर प्रहरीको परिचालन रेखदेख, नियन्त्रण र निर्देशन दिने अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई हुनेछ र निजको आदेश र निर्देशन पालना गर्नु प्रत्येक महानगर प्रहरीको कर्तव्य हुनेछ,” ऐनमा भनिएको छ ।

प्रहरी ऐन २०८० को दफा ३९ मा महानगर प्रहरीलाई सजायसम्बन्धी कार्यविधि महानगर प्रहरीलाई सामान्य सजाय गर्ने अधिकार महानगर प्रहरी बल प्रमुखलाई हुनेछ ।  त्यस्तै महानगर प्रहरी उपरीक्षक र सोभन्दा माथिका अधिकृत प्रहरीलाई सामान्य सजाय गर्ने अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई हुनेछ ।

महानगर प्रहरीलाई विशेष सजाय गर्नुपर्ने भएमा प्रमुख प्रशासकीय अधिकृतको सिफारिसमा कार्यपालिकाले गर्नेछ ।

मेयर बालेनले ६ महिनादेखि कार्यपालिका बैठक बोलाउन सकेका छैनन् । बजेटका लागि कार्यपालिका बैठक बस्नैपर्छ । त्यही समयमा गुरागाईंले पाण्डेलाई कारबाहीको सिफारिस गरेको खण्डमा उनको पद जान्छ ।

हालको परिस्थितिमा उपमेयरसहित ४२ कार्यपालिका सदस्य एकजुट छन् भने बालेन एक्लो देखिएका छन् ।

महानगर प्रहरी कर्मचारीलाई सजायको आदेश दिनुअघि कारबाही गर्न लागिएको व्यहोरा उल्लेख गरी हुन सक्ने सजायसमेत खुलाइ सूचना दिई निजलाई आफ्नो सफाई पेस गर्ने मौका दिनुपर्ने ऐनमा उल्लेख छ ।

त्यस्तो सूचना दिँदा आरोप स्पष्ट रूपले किटिएको हुनुपर्नेछ । त्यस्तो नगर प्रहरी कर्मचारीले सजाय गर्ने अधिकारीले तोकिएको म्यादभित्र आफ्नो सफाइको र प्रस्तावित सजायको सम्बन्धमा लिखित स्पष्टीकरण पेस गर्नुपर्नेछ ।

नगर प्रहरीलाई सजायको आदेश दिनुअघि उसलाई अभियोगसहितको स्पष्टीकरण सोधेर सफाइको मौका दिनुपर्ने ऐनमा उल्लेख छ ।

सजाय गर्ने अधिकारीले आवश्यक ठानेमा सजाय गर्नुअघि जाँचबुझ गराउन सक्ने र सो अधिभर निलम्बनसमेत गर्न सक्ने समेत अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई हुने उल्लेख छ ।  गुरागाईंले कानुन व्यवसायीसँग सल्लाह गरेर मात्रै अन्य कदम चाल्ने बताए । “मैले त्यसै निर्णय गर्ने कुरा होइन । कानुन व्यवसायीहरूसँग सल्लाह गरेर मात्रै के हुन्छ, गर्छु,” उनले भने ।

Raju-Pandey-1748334647.jpg
 

यस्तो छ पाण्डेको ६ बुँदे स्पष्टीकरण 

गुरागाईंले सोधेको ७ बुँदे स्पष्टीकरणमा पाण्डेले ६ बुँदे स्पष्टीकरण पेश गरेका छन् ।  

१. महानगरपालिकाको स्वामित्वको सार्वजनिक सम्पतिको रूपमा रहेको विशिष्ट व्यक्तिहरूले प्रयोग गर्ने सवारी साधनको अनधिकृत प्रयोग हुन नदिन साथै सोको सुरक्षा संवेदनशीलतालाई समेत मध्यनजर गर्दै नियमित रूपमा गरिने कार्य भएको व्यहोरा अनुरोध गर्दछु ।
 

२. उक्त दिनमा के कस्तो कार्यक्रम हुन गइरहेको सम्बन्धमा महानगर प्रहरी बललाई कुनै जानकारी नभएको अवस्थामा महानगरपालिका कार्यालय परिसरमा नियमितभन्दा बढी भिडभाड भई जनप्रतिनिधि कर्मचारीबाहेक अन्य व्यक्तिहरू समेत हुन सक्ने भएकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी, कर्मचारी, जनप्रतिनिधि तथा कार्यालयको सुरक्षाको प्रबन्ध गर्न प्रमुखज्यूको आदेश अनुसार गरिएको व्यहोरा अनुरोध गर्दछु ।
 

३. महानगरपालिका कार्यालय परिसरमा नियमितभन्दा बढी भिडभाड भई जनप्रतिनिधि कर्मचारीबाहेक अन्य व्यक्तिहरू समेत हुन सक्ने भएकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी कर्मचारी, जनप्रतिनिधि तथा कार्यालयको सुरक्षाको प्रबन्धको व्यवस्थापकीय कार्य गर्न प्रमुखज्यूको आदेश अनुसार गरिएको व्यहोरा अनुरोध गर्दछु ।
 

४. श्रीमान प्रमुख प्रशासकीय अधिकृतज्यूको कार्यकक्षको तालाबन्दी तथा अन्य कागजात सम्बन्धमा मलाई कुनै जानकारी नभएको र सो कार्यका लागि कुनै निर्देशन नगरिएको समेत अनुरोध गर्दछु ।
 

५. म महानगरपालिकको कर्तव्यनिष्ट कर्मचारी रहेको कुरा निर्विवाद नै रहेको छ । मैले सदैव श्रीमान् प्रमुख प्रशासकीय अधिकृतज्यूको आदेश पालना गरेको अवस्था हो । श्रीमान्को गैरहाजिरीमा महानगरपालिकाको अन्तिम निर्णयकर्ता श्रीमान् प्रमुखज्यूको आदेश पालना गर्ने कार्यसम्म मात्र गरेको हो । मैले गर्नुपर्ने आचारण र अनुशासनविपरीत कार्य नगरेको व्यहोरा अनुरोध गर्दछु ।
 

६. सञ्चारमाध्यमहरूबाट अतिरञ्जनापूर्णले महानगरपालिकाको प्रतिष्ठाविरुद्ध प्रचारप्रसार भएको अवस्थामा सञ्चारमाध्यमबाट सोधनी हुँदा महानगरपालिकाभित्र कुनै विवादको अवस्था नरहेको स्पष्ट पार्न आफ्नो अभिव्यक्ति व्यक्त गरेको मात्र हुँ । मैले सदवै महानगरपालिकाको नीति तथा निर्णयबमोजिमको कुरा मात्र सञ्चारमाध्यममा प्रस्तुत गरेको व्यहोरा अनुरोध गर्दछु । साथै मैले उपप्रमुखलगायत अन्य कुनै जनप्रतिनिधिसँग मुखमुखै लाग्ने तथा अमर्यादित व्यहोरा देखाएको होइन ।
 

मैले सदैव श्रीमान्को आदेशको पालना गरिआएको नै छु । काठमाडौं महानगरपालिकाको नीति तथा निर्णयबमोजिम आफूले पालना गर्नुपर्ने कर्तव्य पालना नै गरेको छु । उक्त दिनको घटनापश्चात नियमित रूपमा मैले श्रीमान्को आदेश पालना गरी आएको नै अवस्था हो । काठमाडौँ महानगरपालिका जनप्रतिनिधिहरूको आदेश मानेको नै छु । साथै अन्य कर्मचारी सहकर्मीहरूसँग समेत गर्नुपर्ने सहकार्य मैले गर्ने गरेको नै छु । आफूले गर्नुपर्ने कर्तव्य पालना नगरेको तथा अनुशासनहीन कार्य गरेको भन्ने दृष्टिकोणबाट परिस्थितिजन्य अवस्थाबाट पर्न गएको शंकाको कारणले मलाई कारवाही गर्नुपर्ने अवस्था नभएको व्यहोरा अनुरोध गर्दछु ।
 

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १३:२०
प्रतिक्रिया दिनुहोस्