site stats
बाह्रखरी :: Baahrakhari
विदेश
कम्बोडियाका नेतासँगको फोन संवाद लिक भएपछि थाई प्रधानमन्त्रीको पद धरापमा

काठमाडौं । थाई प्रधानमन्त्री पेटोन्टार्न शिनावात्राको गठबन्धन सरकार पतनको संघारमा पुगेको छ । कम्बोडियाका पूर्वनेता हुन सेनसँग उनले गरेको सीमा विवादबारेको कुराकानी सार्वजनिक भएपछि सरकार ढल्ने अवस्थामा पुगेको हो ।

फोनवार्तालाई लिएर जनताले आक्रोश पोखिरहेका छन् । गठबन्धनको प्रमुख साझेदार पार्टीले सरकार छाड्ने घोषणा गरेको छ ।

फोनवार्तामा उनले हुन सेनलाई 'काका' भनेर सम्बोधन गरेकी थिइन् । यस्तै, एक थाई सैन्य कमान्डरलाई बर्खास्त गर्ने अभिव्यक्ति अडियोमा सुनिन्छ । दबाब बढेपछि पेटोन्टार्नले बिहीबार लिक भएको अडियोका लागि माफी मागेकी छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पेटोन्टार्नको गठबन्धन सरकारमा दोस्रो ठूलो दल भुमजाइथाईले बुधबार गठबन्धन छाडेपछि प्यू थाई पार्टीलाई ठूलो धक्का पुगेको छ । पेटोन्टार्नको गठबन्धनसँग अहिले झिनो बहुमत छ । गठबन्धनका थप साझेदारले सरकार छोड्ने निर्णय लिए उनले बहुमत गुमाउने सम्भावना छ । अन्य दुई गठबन्धन साझेदारले बिहीबारपछि यस विषयमा छलफल गर्ने बताएका छन् ।

आलोचकहरूले पेटोन्टार्नले हुन सेनलाई 'काका' भनेर सम्बोधन गर्नु र उनको माग पूरा गर्ने वाचा गर्नु आपत्तिजनक रहेको बताएका छन् । उनीहरूले पेटोन्टार्नले देशको राजनीतिकरूपमा प्रभावशाली सेनालाई कमजोर पार्न खोजेको आरोप लगाएका छन् ।

फोनवार्तामा उनले हुन सेनलाई थाई सैन्य कमान्डरले सीमा तनाव बढाएर आफूलाई राम्रो देखाउन खोजेको र आपत्तिजनक कुरा गरेको बताएकी थिइन् ।

शिनावात्रा परिवार र कम्बोडियाको हुन सेन परिवारबीच दशकौँदेखि मैत्रीपूर्ण सम्बन्ध रहेको बताइन्छ । हुन सेन र पेटोन्टार्नका पिता पूर्वथाई प्रधानमन्त्री थाक्सिन शिनावात्रा एकअर्कालाई दाजुभाइ मान्छन् ।

थाई नेतृ पेटोन्टार्नले फोन कललाई सामान्य 'वार्ताको तरिका' भनेर बचाउ गरेकी छन् । विपक्षी नेताहरूले उनको राजीनामा माग गरेका छन् ।

हुन सेनले अडियो क्लिप ८० नेतालाई दिएको र तीमध्ये एकजनाले लिक गरेको बताएका छन् । उनले पछि १७ मिनेट लामो सबै रेकर्डिङ फेसबुकबाट सार्वजनिक गरेका थिए ।

बीबीसीबाट ।

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १४:४७
प्रतिक्रिया दिनुहोस्