site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
लम्साल मृत्यु प्रकरण : नेपाली विद्यार्थीलाई फर्किने व्यवस्था मिलाइयो 

काठमाडौं ।  नयाँदिल्ली स्थित नेपाली दूतावासले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा मृत अवस्थामा भेटीएकी नेपाली छात्राको निष्पक्ष छानबिनको माग गरेको छ । 

दूतावासले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै उक्त माग गरेको हो ।

“राजदूतावासले उक्त शैक्षिक संस्थाकी विद्यार्थी स्व. प्रकृति लम्सालको मृत्युको सम्बन्धमा स्वतन्त्र एवं निष्पक्ष तवरले अनुसन्धान हुन जोड दिएकोमा सो शैक्षिक संस्थाले उक्त विषयलाई गम्भीरतापूर्वक लिने प्रतिबद्धता व्यक्त गरेको छ,” विज्ञप्तिमा भनिएको छ, “मृतक प्रकृति लम्सालको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति यस राजदूतावास हार्दिक समवेदना व्यक्त गर्दछ ।” 

Dabur Nepal
NIC Asia

केआईआईटीको होस्टलबाट सोमबार बिहान जबर्जस्ती निष्कासन गरिएका नेपाली विद्यार्थीलाई होस्टलमा फर्कने वातावरण तय भएको समेत दूतावासले विज्ञप्तिमा जनाएको छ । 

केआईआईटीमा विकसित घटनाक्रमहरुका सम्बन्धमा उक्त शैक्षिक संस्थामा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई छात्रावासबाट निकालिएको सूचना प्राप्त हुनासाथ दूतावासले उक्त शैक्षिक संस्थाका रजिस्ट्रारलगायतका प्रतिनिधिहरुसँग छलफल गरेको थियो ।

उक्त छलफलमा राजदूतावासले सो शैक्षिक संस्थामा रहेका नेपाली विद्यार्थीहरुको सुरक्षा सुनिश्चित गर्दै शैक्षिक संस्थाको छात्रावासमा नै बस्ने प्रबन्ध मिलाउन अनुरोध गरेको थियो । 

त्यसैगरी, उक्त शैक्षिक संस्थामा रहेका नेपाली विद्यार्थीहरुको कक्षा संचालनका लागि आवश्यक व्यवस्था मिलाउन समेत अनुरोध गरिएको थियो । 

“यस राजदूतावासबाट अनुरोध भएबमोजिम उक्त शैक्षिक संस्थाले सोहीअनुसार विद्यार्थीहरुलाई छात्रावासमा बस्ने व्यवस्था मिलाई नेपाली विद्यार्थीहरुको लागि कक्षा संचालनको व्यवस्था गर्ने जानकारी यस राजदूतावासलाई गराएको छ,” नेपाली दूतावासले विज्ञप्तिमा भनेको छ ।

यस घटनाका सम्बन्धमा दूतावासले नेपाली विद्यार्थी लगायत भारतको केन्द्रिय सरकार एवं उडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित भारतीय निकायहरुसँग निरन्तर सम्पर्क गरिरहेको र उक्त निकायहरुबाट आवश्यक सहयोग एवं समन्वय भइरहेको जनाएको छ । 

प्रभावित नेपाली विद्यार्थी एवं अभिभावकहरुले केहि समस्या भएमा दुतावासको हटलाईन +९१ ८९२९६०१ ९३५ र इमेल  Polnepembdelhi@gmail.com  मा सम्पर्क गर्न भनिएको छ । 

केआईआईटीको होस्टलमा आइतबार साँझ एक जना २० वर्षिया नेपाली छात्रा प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् । 

विश्वविद्यालयको लापरवाहीका कारण नेपाली छात्राको मृत्यु भएको भन्दै विद्यार्थी आन्दोलित भएपछि रिजस्ट्रारको कार्यालयले एक सूचना प्रकाशित गरी नेपाली विद्यार्थीलाई तत्काल क्याम्पस खाली गर्न भनेको थियो । 
त्यसपछि सोमबार दिउँसो केआईआईटी विश्वविद्यालयमा अध्ययनरत ५ सयभन्दा बढी नेपाली विद्यार्थीलाई होस्टलबाट जर्बजस्ती उठाएर बिभिन्न रेल स्टेसनमा लगि छोडिएको थियो । 

भारतीय मिडिया द इन्डियन एक्सप्रेसले आफ्नो अनलाईन संस्करणमा उल्लेख गरे अनुसार उनीहरुलाई त्यहाँबाट आफ्नो घर जान भनिएको थियो ।

मृतक छात्रा बी.टेक तेस्रो वर्षमा अध्ययनरत थिइन् । उनको मृत्युको कारण अझै पत्ता लागेको छैन ।  सोही विश्वविद्यालयका तेस्रो वर्षका मेकानिकल इन्जिनियरिङका एक पुरुष विद्यार्थी साथीले दुव्र्यवहार गरेपछि उनले आत्महत्या गरेको आशंका गरिएको छ ।

गत महिना विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) लाई प्रकृतिले आफूमाथि दुव्र्यवहार भएको रिपोर्ट गरेकी थिइन् । तर विश्वविद्यालयले कुनै कारवाही अघि नबढाएपछि प्रकृतिले आत्महत्याको बाटो रोजेको दाबी गरिएको छ । 

उक्त घटनाको भारत र नेपालमा ब्यापक आलोचना भएपछि विश्वविद्यालय प्रशासनले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थीलाई होस्टलमा फर्कन आग्रह गरेको छ । 

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १८:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro