![भारत ऊर्जा सप्ताहमा चले हाइड्रोजन गाडी, नेपाल नीतिमै सीमित !](https://12khari.top/uploads/posts/Hydrogen-1739432519.jpg)
काठमाडौं । भारतको ‘इन्डिया इनर्जी विक–२०२५’मा हाइड्रोजन गाडी सार्वजनिक भएका छन् । फेब्रुअरी ११ देखि १४ सम्म आयोजित ऊर्जा सप्ताहमा १२० भन्दा बढी देशका ७०० बढी ऊर्जा कम्पनीको प्रदर्शनी छ ।
इनर्जी सप्ताहमै भारतमा चलेका हाइड्रोजन गाडी सार्वजनिक गरिएको हो । प्रदर्शनीमा छुट्टै हाइड्रोजन जोन छ । हाइड्रोजन ऊर्जा र पूर्वाधारमा काम गरिरहेको दर्जनौँ कम्पनी पनि प्रदर्शनीमा छन् ।
हाइड्रोजन ऊर्जाका क्षेत्रमा भारतले पूर्वाधारको विकाससँगै महत्त्पपूर्ण फड्को मार्दै गाडी सञ्चालनमा ल्याएको हो । भारतले रेलमा समेत यसको परीक्षण गरी मार्चबाट सञ्चालन लक्ष्य राखेको बताइएको छ । यो रेल हरियाणाको जिन्द–सोनिपत मार्गमा चल्ने अपेक्षा गरिएको छ ।
यस किसिमको विकासले भारत हाइड्रोज ऊर्जामा विश्वमै अग्रस्थान कायम गर्न सक्ने आकलन हुन थालेको छ ।
ऊर्जा सम्पताहको सम्मेलनमा भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदीप पुरीले हरित हाइड्रोजन सम्भावनाबारे अर्थपूर्ण धारणा राखेका छन् । उनले सन् २०३० सम्म भारतले ५० लाख टन हाइड्रोजन उत्पादनको लक्ष्य हासिल गर्ने दाबी गरे ।
भारतले तीन वर्षअघि राष्ट्रिय हाइड्रोजन मिसन घोषणा गरेयता यस उद्योगमो राम्रो विकास भएको उनको भनाइ छ । मन्त्री पुरीले चाँडै अब ठूलो संख्यामा व्यावसायिकरूपमा हाइड्रोजन गाडी चल्ने बताए । भारतको आयल निगम र टाटा मोटर्सबीचको सम्झौता अनुसार हाइड्रोजन गाडी उत्पादन भएको उनले बताए ।
पुणेस्थित टाटाको हाइड्रोजनलक्षित आरएन्डडी सेन्टरमा बनेका १२ मिटर लामा ३५ सिट क्षमताका गाडी सफल सडक परीक्षणपछि हस्तान्तरण गरिएको छ ।
सन् २०२४ को चौथो त्रैमासमा व्यापक विकास र लगानी बढेसँगै भारतमा हाइड्रोजन ऊर्जा मूलधारको विषय बन्दै गएको छ ।
हाइड्रोज ऊर्जा र सवारीको विकासले गति लिँदा नेपालमा लामो सयमदेखि यस क्षेत्रमा काम गरिरहेका सरोकारवाला एवं जानकारहरू भने निरुत्साहित हुँदै गएका छन् । नीतिगत र व्यवहारिकरूपमा सरकारले कुनै पहल नचालेपछि नेपालमा राम्रो सम्भावना रहेको हाइड्रोजको उत्पादन नहुने स्थिति आएको जानकारहरू बताउँछन् ।
हाइड्रोजन ऊर्जाको उत्पादन एवं प्रवर्धनमा काम गरिरहेको काठमाडौं विश्वविद्यालय (केयू)का सहप्रध्यापक डा. विराज सिंह थापाले नेपाल अझै नीतिगत प्रस्थानकै विन्दुमा रहेको बताएका छन् । हाइड्रोजन ऊर्जाको विकासमा भारतले गति लिइसक्दा उच्च सम्भावना हुँदाहुँदै पनि नेपाल पछि पर्ने स्थिति बनेको उनको भनाइ छ । “हामी अहिले पनि नीतिमै सीमित छौँ,” थापाले भने ।
सरकारले गत वर्ष ०८० को माघमा ग्रिन हाइड्रोजन नीति ल्याएको थियो । तर, त्यसयता थप उल्लेख्य उपलब्धि नभएको सरोकारवालाको भनाइ छ । हालै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नीति कार्यान्वयनका लागि संरचनागत व्यवस्था गर्ने भन्दै विभिन्न निकायलाई पत्राचार गरेको छ ।
हाइड्रोजन ऊर्जा सप्ताहमा सहभागी हुन नेपालबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का भारत भ्रमणमा छन् । नेपालबाट सहभागी अन्य व्यक्तिहरूले हाइड्रोजन ऊर्जामा भारतको विकास नेपालका लागि पाठ हुन सक्ने टिप्पणी गरेका छन् । यस्तोमा मन्त्री खड्का भने पारिवारिक घुमघाममा व्यस्त भएको र मन्त्रीस्तरीय प्यानल छलफल कार्यक्रममा समेत नदेखिएको उनीहरूको गुनासो छ ।
नेपाल एसोसिएसन फर इम्प्याक्ट एसेसमेन्टका सीईओ नेत्रबहादुर कार्कीले भारतले ग्रिन हाइड्रोजन ऊर्जाका क्षेत्रमा उल्लेख्य प्रगति गरेको देखिएको टिप्पणी गरेका छन् ।
नेपालमा समेत विश्वकै सस्तो हाइड्रोजन उत्पादन गर्न सकिने उनको भनाइ छ । “भारतले चामत्कारिक छलाङ मारेको देखियो । हामीसँग पनि प्रशस्त पानी र बिजुली भएकाले सस्तो ग्रिन हाइड्रोज उत्पादन गर्न सक्छौँ र हाम्रा लागि आन्तरिकमात्रै नभएर चीन, भारत, बंगलादेशलगायत बजार हुन सक्छन् । हाइड्रोज यातायातको क्षेत्रमा प्रयोग हुन्छ,” हाइड्रोजन ऊर्जाको क्षेत्रमा वकालत गर्दै आएका कार्कीले भने ।
भारतको ऊर्जा सप्ताहका ९५ भन्दा बढी सेसनमा ५०० बढी वक्ता छन् । ६ हजारभन्दा बढी डेलिगेट्स एवं प्रदर्शनीमा ७० हजारभन्दा बढी ऊर्जा प्रोफेसनलले अवलोकन गर्ने आकलन छ । भारतको नयाँ दिल्लीस्थित यशोभूमि द्वारकामा तेस्रो संस्करणको इनर्जी विक आयोजना गरिएको हो ।